काठमाडौँ । काठमाडौँको डिल्लीबजारस्थित सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। “डिजिटल एभरेष्ट: स्केलिंग इनोभेसन बियोन्ड बोर्डर्स” भन्ने मूल नारासहित आयोजित समिटले नेपालमा उद्योग–केन्द्रित र प्रयोगात्मक रोबोटिक्स शिक्षाको आवश्यकता र सम्भावनालाई स्पष्ट रूपमा उजागर गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र मल्लले सन् २०३० सम्मको विश्वव्यापी प्रविधि बजारलाई लक्षित गर्दै नेपाली विद्यार्थीहरू ह्युमनोइड्स र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिमा दक्ष हुनुपर्ने बताए। उनले उद्योग–मैत्री पाठ्यक्रमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्ने जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा वान कभरका सीईओ चिरञ्जीवी अधिकारीले “रोबोटिक्स जसले रोजगारी दिन्छ” भन्ने अवधारणामा जोड दिए। उद्योगको मागअनुसार वास्तविक उत्पादन र समाधान तयार गर्न सक्ने सीपयुक्त जनशक्ति नै आजको आवश्यकता भएको उनको भनाइ थियो।
अटोनोमस रोबोटिक्सका विज्ञ युधिष्ठिर गौलीले स्वास्थ्य सेवा, ढुवानी र उत्पादनमूलक क्षेत्रमा रोबोटिक्सको बढ्दो प्रयोगबारे अनुभव साट्दै नेपालमै पहिलोपटक उद्योग–आधारित ‘रोबोटिका इन्स्टिच्युट’ पाठ्यक्रम सुरु गरिएको जानकारी दिए।
सफ्टवारिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले ‘टेक शोकेस’ र ‘करियर जोन’मार्फत विद्यार्थीहरूले विश्वव्यापी रिमोट जब्स र इन्टर्नसिपका अवसरबारे प्रत्यक्ष जानकारी पाएको बताए। उनले यस्ता प्रयोगात्मक र उद्योगसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समिटले विश्व बैंक समूहको #Jobs Agenda सँग तालमेल गर्दै पूर्वाधारमा लगानी, व्यवसायिक वातावरण सुदृढीकरण र निजी पुँजी परिचालनमार्फत रोजगारी सिर्जनालाई प्राथमिकता दिएको थियो। कार्यक्रममा देशभरका विभिन्न कलेजका विद्यार्थी, प्राज्ञिक व्यक्तित्व तथा प्रविधि विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
