पेरूको राजनीतिक भूकम्पबाट नेपाललाई चेतावनी

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं । कुनै समय दक्षिण अमेरिकाको सफल आर्थिक कथा मानिएको पेरू आज गम्भीर राजनीतिक अस्थिरताको चक्रव्यूहमा फसेको छ। माओवादी सशस्त्र द्वन्द्वका बेला नेपाली सांस्कृतिक टोलीहरूले ऐक्यबद्धता जनाउँदै गीतमार्फत प्रशंसा गरेको ‘साइनिङ पाथ’ विद्रोहको भूमि पेरू अहिले लोकतान्त्रिक संस्थाहरू नै संकटमा पर्ने अवस्थासम्म पुगेको छ।

हालै ८३ वर्षीय पूर्व न्यायाधीश होसे मारिया बाल्काजार ले नवौँ राष्ट्रपतिका रूपमा सपथ लिँदा राजधानी लिमाका सडकहरूमा उत्साहभन्दा निराशा देखियो। उनको नियुक्ति जनादेशको परिणाम नभई संसदभित्रको शक्ति सन्तुलन मिलाउने सम्झौताको उपज हो। ५३ दिनपछि हुने निर्वाचनसम्मका लागि उनी ‘केयरटेकर’ राष्ट्रपतिका रूपमा आएका हुन्।

‘चीफा गेट’ ले ल्यायो अर्को महाभियोग

निवर्तमान राष्ट्रपति होसे हेरी गम्भीर भ्रष्टाचार काण्डमा मुछिएपछि पदच्युत भए। चिनियाँ र पेरूभियन स्वादको फ्युजन ‘चीफा’ नामले चिनिने रेस्टुरेन्टमा चिनियाँ व्यापारीसँग गोप्य भेटघाट गरेको भिडियो सार्वजनिक भएपछि ‘चीफा गेट’ नाम दिइएको प्रकरणले उनको पतन निम्त्यायो। उक्त भेट सरकारी डायरीमा दर्ता नगरिनु र विवादास्पद व्यक्तिहरूको संलग्नता देखिनुले संसदले उनलाई ‘स्थायी नैतिक अक्षमता’ को आरोपमा हटायो।

पेरूको संविधानमा राष्ट्रपतिको पद रिक्त हुने आधारमध्ये ‘स्थायी नैतिक अक्षमता’ भन्ने प्रावधानलाई पछिल्ला वर्षहरूमा सांसदहरूले राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्दै आएका छन्। यही कानुनी छिद्र प्रयोग गरी संसदले ७५ मतका आधारमा हेरीलाई पदमुक्त गर्‍यो।

एक दशकमा नौ राष्ट्रपति

सन् २०१६ पछि पेरूमा अस्थिरताको श्रृंखला तीव्र बनेको छ। ओलान्टा हुमाला को कार्यकाल सकिएयता देशले नौ जना राष्ट्रपति देखिसकेको छ। कतिपय भ्रष्टाचार अभियोगमा जेल परे, कतिपय महाभियोगबाट हटाइए। पेड्रो कास्टिलो ले ‘सेल्फ–कू’ को असफल प्रयासपछि जेल सजाय भोगिरहेका छन् भने उनकी उत्तराधिकारी डिना बोलुआर्टे ‘रोलेक्स गेट’ काण्डमा विवादित बनिन्।

राजनीतिक दरबार पालासियो दी गोबिएर्नो भन्दा जेलमा पूर्व राष्ट्रपतिहरूको उपस्थिति बढी देखिनु पेरूको लोकतान्त्रिक संकटको प्रतीक बनेको छ।

भू–राजनीतिक खिचातानी

पेरूको अस्थिरतामा भू–राजनीतिक पक्ष पनि जोडिएको छ। अमेरिकाले चान्काई बन्दरगाह मा बढ्दो चिनियाँ लगानीलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ। बेइजिङको पूर्वाधार लगानीले दक्षिण अमेरिकामा अमेरिकी प्रभाव घटाउने वासिङ्टनको आशंका छ। ‘चीफा गेट’ प्रकरणले सत्ता र चिनियाँ स्वार्थ समूहबीचको सम्बन्धमाथि थप प्रश्न उठाएको छ।

अर्थतन्त्र किन ढलेन?

यति धेरै राजनीतिक उथलपुथलका बाबजुद पेरूको अर्थतन्त्र पूर्ण रूपमा धराशायी भएको छैन। यसको मुख्य श्रेय केन्द्रीय बैंकको स्वायत्त नेतृत्वलाई दिइन्छ। सन् २००६ देखि गभर्नरका रूपमा कार्यरत होलियो बेलार्डे (Julio Velarde) को नेतृत्वमा मौद्रिक नीतिले मुद्रास्फीति नियन्त्रणमा राख्न भूमिका खेलेको छ। तामा र सुनको निर्यात तथा ७० प्रतिशतभन्दा बढी रहेको अनौपचारिक अर्थतन्त्रले पनि देशलाई आर्थिक संकटबाट जोगाएको छ।

नेपालका लागि सन्देश

पेरूको उदाहरणले संविधानका अस्पष्ट प्रावधानहरूको राजनीतिक दुरुपयोगले लोकतन्त्रलाई कसरी कमजोर बनाउँछ भन्ने देखाएको छ। नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको बहस पुनः उठिरहेका बेला पेरूको अनुभव सान्दर्भिक बन्न पुगेको छ। सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थाले ‘शक्ति पृथकीकरण’ कायम राख्ने तर्क गरिए पनि कार्यपालिका र संसदबीच असन्तुलन हुँदा अस्थिरता बढ्न सक्ने जोखिम पेरूले देखाएको छ।

आगामी चैत २९ मा हुने चुनावले पेरूलाई स्थायित्व देला भन्ने आशा कमजोर देखिन्छ। समस्या केवल पात्रहरूमा होइन, प्रणालीमै गहिरो रूपमा जरा गाडेको देखिन्छ। लोकतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन संस्थागत सन्तुलन र उत्तरदायित्व अनिवार्य रहने पेरूको अनुभवले संकेत गरेको छ।

  • Clock icon
    २०८२ फाल्गुन ८, शुक्रबार