न्युयोर्क । प्रविधि जगत्मा ऐतिहासिक फड्को मार्दै १८ फेब्रुअरी २०२६ मा अमेरिकाको New York City मा वर्ल्ड एआई एलायन्स (WAA) को औपचारिक घोषणा गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (AI) को ७०औँ वार्षिकोत्सवको अवसर पारेर स्थापना गरिएको यस संस्थाको नेतृत्व नेपालमा जन्मिएका प्रविधि दूरदर्शी उज्ज्वल रायले गर्ने भएका छन् ।
नेपाली प्रविधि नेतृत्वको विश्वव्यापी पहिचान
नेपालका प्रख्यात प्रविधि उद्यमी तथा सरकारी सल्लाहकार उज्ज्वल राय वर्ल्ड एआई एलायन्सका संस्थापक अध्यक्ष नियुक्त भएका छन् । उनको नियुक्तिलाई विश्वभर रहेका नेपाली समुदायका लागि गर्वको विषयका रूपमा हेरिएको छ ।
CAN Federation का वरिष्ठ उपाध्यक्ष तथा प्रविधि उद्यमी चिरञ्जीवी अधिकारीले यस उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण कोशेढुङ्गा बताएका छन् । उनका अनुसार रायको नेतृत्वले नेपाली जनशक्तिको क्षमता विश्वस्तरमा प्रमाणित गरेको छ ।
डिजिटल नेपालदेखि विश्व मञ्चसम्म उज्ज्वल राय
संस्थापक अध्यक्ष रायले नेपालको डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले नेपालको पहिलो राष्ट्रिय एआई नीति (National AI Policy) तर्जुमा गर्न मुख्य सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । साथै, नेपालको ३० वर्षे आइटी रोडम्याप निर्माणमा प्रमुख रणनीतिकारका रूपमा काम गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा उनी IEEE को एथिकल एआई कमिटीका सदस्यका रूपमा विश्वव्यापी एआई मापदण्ड निर्धारणमा सक्रिय छन् ।
वर्ल्ड एआई एलायन्सका मुख्य उद्देश्य
न्युयोर्कमा मुख्यालय रहेको वर्ल्ड एआई एलायन्सले एआईको नैतिक, उत्तरदायी र समावेशी प्रयोगमा जोड दिने जनाएको छ । संस्थाका चार प्रमुख स्तम्भ यसप्रकार रहेका छन्–
१. नैतिक सुशासन: एआई एल्गोरिदम र तालिम डेटासेटमा निष्पक्षता तथा पारदर्शिता सुनिश्चित गर्ने ।
२. शिक्षा र प्रतिभा खोजी: अन्तर्राष्ट्रिय ह्याकाथन र फेलोसिपमार्फत नयाँ पुस्ताका एआई नेतृत्व तयार गर्ने ।
३. खुला पूर्वाधार: स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रयोग हुने एआई सफ्टवेयरलाई खुला पहुँचयोग्य बनाउने ।
४. विश्वव्यापी सहकार्य: विभिन्न देश र क्षेत्रबीच समावेशी एआई विकासका लागि साझेदारी विस्तार गर्ने ।
सशक्त अन्तर्राष्ट्रिय टोली
संस्थाको नेतृत्व टोलीमा संस्थापक अध्यक्ष रायसँगै महासचिवका रूपमा युवा नेपाली साइबर सुरक्षा विज्ञ सुयोग पराजुली आबद्ध छन् । त्यस्तै, क्रिस एकम्यान, क्रिस साल्सबरी, मेल्भिन राल्फ मान्चाउन तथा ध्रुबो आदित्य जस्ता विज्ञहरूले सल्लाहकारका रूपमा मार्गदर्शन गर्नेछन् ।
संस्थापक अध्यक्ष रायका अनुसार, “वर्ल्ड एआई एलायन्स केवल एउटा संस्था मात्र नभई एउटा अभियान हो, जसले एआईलाई मानवहित, पारदर्शिता र उत्तरदायित्वका साथ प्रयोग गर्ने सुनिश्चित गर्नेछ।”
