रौतहट । रौतहटको सदरमुकाम गौरस्थित गौर–चन्द्रपुर सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा नौं जना यात्रु घाइते भएका छन् ।
शुक्रबार गौर नगरपालिका–४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनाका समयमा बसमा करिब ४० जना यात्रु सवार थिए । घाइते हुनेहरूमा रौतहट, बारा, मकवानपुर र छिमेकी मुलुक भारतका नागरिक रहेका छन् ।
दुर्घटनामा रौतहट गढीमाई–१ का ३२ वर्षीय रंजय यादव, बारा कलैयाका ३० वर्षीय नुर महम्मद, गरुडा–४ का २६ वर्षीय निरज कुमार गुप्ता र यमुनामाई–३ का ४२ वर्षीय विनोद बैठा घाइते भएका छन् । गरुडाका गुप्तालाई थप उपचारका लागि वीरगञ्जतर्फ र विनोद बैठालाई पुरेनवास्थित आँखा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मकवानपुर हेटौडा–४ की ४२ वर्षीया सुनिता केशरी र भारतको गमडिया, शिवहर तथा सितामढीका चार जना घाइते भएका छन् । भारतका घाइतेहरूमा देव नारायण बैठा, सुभम कुमार बैठा, ललन साह र लसिभ सहनी रहेका छन् । अन्य घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जानकारी दिए ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बस चालक चन्द्रपुर नगरपालिका–८ बस्ने २४ वर्षीय रिजवान खानलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
