चीनले आगामी बिहिबारदेखि सोमबारसम्म कम्तीमा एक करोड पाँच लाख आफ्ना नागरिक विदेश घुम्न जाने प्रक्षेपण गरेको छ । पोहोरको तुलनामा यो वर्षको अन्तर्राष्ट्रिय श्रम दिवस अर्थात् मे १ का दिन २७ प्रतिशत बढी चिनियाँ विदेश जाने अनुमान छ ।
आगामी बिहिबारदेखि दिनहुँ २१ लाख ५० हजार चिनियाँ नागरिकले मुलुकको सीमा पार गर्ने नेशनल इमिग्रेसन एडमिनिस्ट्रेशनलाई उद्धृत गर्दै समाचार समिति सिन्ह्वाले जनाएको छ । चीनमा हरेक वर्ष मे १ देखि ५ तारिखसम्म सबैभन्दा धेरै मानिस स्वदेश तथा विदेश घुमघाममा निस्कने गरेका छन् ।
सांघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ एक लाख एक हजार चिनियाँ विदेश जाने छन् भने ग्वाङ्चौको विमानस्थलबाट ५० हजार र बेइजिङ क्यापिटल विमानस्थलबाट औसत ४० हजार चिनियाँ विदेश यात्रामा निस्कने गर्छन् । हङकङ, मकाउ आउजाउ गर्नेहरु पनि त्यत्तिकै हुन्छन् ।
अस्ति शनिवार राती १० बजे चोङ्ग्छिङ्गबाट हिमालय एअरलाइन्सको उडानमा २० जनाको प्रतिनिधिमण्डल काठमाण्डौ आइपुग्यो । चिनियाँ विदेश जान लाग्दा सीमाना जोडिएको नेपाल आउनेको संख्या बढाउन आवश्यक छ । हाम्रा सरकारी र निजी क्षेत्रले चिनियाँ पर्यटकलाई आकर्षित गर्न समयानुकूल सुविधा थप्ने हो भने चीनियाँ पर्यटकको सँख्या नेपालमा बढ्ने छ । अनि सोध्नुपर्ने छैन एक करोड चीनिया विदेश जाँदा नेपालमा कति ? भनेर ।