निर्यातमा ऐतिहासिक वृद्धि

चालु आर्थिक वर्ष २०८१-८२ को पछिल्लो नौ महिनामा नेपालको वस्तु तथा सेवा निर्यातमा उल्लेखनीय वृद्धि भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाएको छ । २०८१ साउनदेखि चैतसम्मको अवधिमा निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७४ अर्ब रुपैयाँ बढी हो ।


निर्यात वृद्धिमा भटमासको प्रशोधित तेलको प्रमुख भूमिका देखिएको छ । भटमासको तेल निर्यात ७५ गुणाले बढेर ६२ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने सूर्यमुखी तेलको निर्यात ५९ गुणाले बढेर नौ अर्ब २३ करोड पुगेको छ । यी तेलहरू प्रायः तेस्रो मुलुकबाट कच्चा रूपमा आयात गरेर प्रशोधनपछि भारत निर्यात गरिएको हो ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार भारतमा माग बढ्दा भटमासको तेल निर्यात बढेको हो ।
तर यो वृद्धिलाई दीर्घकालीन रुपमा टिकाउ मान्न नसकिने अर्थविद्हरू बताउँछन् । त्यस्तै, आयातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । कच्चा तेल मात्र १० अर्ब ८२ करोड रुपैयाँ बराबरको आयात भएको छ। कुल वैदेशिक व्यापारमध्ये निर्यातको हिस्सा १२.५७ प्रतिशत मात्र छ, जबकि आयात ८७.४३ प्रतिशत रहेको छ। यसले व्यापार घाटा अझै गहिरिएको देखिन्छ – यो वर्षको नौ महिनामा व्यापार घाटा ९.४५ प्रतिशतले बढेको छ ।

नेपालले पुँजीगत खर्च विस्तार गर्न, घरेलु उद्योगलाई प्रोत्साहन दिन र आयातमा निर्भरता घटाउन दीर्घकालीन नीति बनाउन आवश्यक छ । साथै, डीजल–पेट्रोल सवारीसाधनलाई विद्युतीयमा रूपान्तरणका लागि सरकारी सहुलियतको आवश्यकता रहेको देखिन्छ ।