सबैलाई माया र आँसुमा डुबाए सुजनले

             

  (समिता लुईटेल)

 

 

 

 

लजाएर एक्लै किन

बसेकी मायालु

अब छाता छोड एक्लैनओढ मायालु

काँपिएको हात समाई

यादहरूको नयाँ घर बनाई

एकफेर बोली हेर न

मायालु, मायालु

गायक सुजन चापागाईंको यो गितले सबै दर्शक तथा श्रोतामा उल्लाहस छायो । अन्तराष्ट्रिय नृत्य दिवसको दिन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गायक चापगाईको गित नृत्य सुन्न हेर्न ठूलो भिड लागेको थियो । छुट्टै रौनकताका लागि । राजनीतिज्ञदेखि विभिन्न क्षेत्रका कलाकार, अभिभाबक तथा पत्रकाहरुको डबलीभरि खचाखच दर्शकको भिड देखिन्थ्यो ।


उप–सभामुख इन्दिरा रानामगरदेखि संसद सोबिता गौतम र सुहाङ नेम्बाङ सुजनलाई सुन्न पुगेका थिए । त्यस्तै, ‘ऊनको स्वीटर’ का विपिन कार्की र मिरुना मगर अनि अन्य कलाकारहरू अञ्जना बराइली, दीया मास्के पनि उपस्थित थिए । यो उपस्थितीले गायक सुजनलाई हौसला दिएको प्रष्ट थियो ।

 

सोहीबीच जब सुजनले मेरो अधुरो प्रेम (एक्लै भए नि) गीत गाए, तब प्रेमिल माहोल एकाएक भावुक बन्यो। मुस्कुराइरहेका दर्शक आँखामा आँसु रोक्न सकेनन् । चार महिनाअघि सिर्जना सुवेदीले आफ्नो श्रीमान् विवेक पंगेनीलाई गुमाइन्। यो जोडी विवेकलाई क्यान्सर हुनुभन्दा अगावै टिकटकमा भाइरल थियो। बिरामी भएपछि सिर्जनाले आफ्ना श्रीमानलाई निकै माया र हेरचाह गरिन्। अनेक कोसिस गरे पनि अन्ततः गत पुस ४ गते विवेक सदाका लागि बिदा भए। र, एक्लै भइन् सिर्जना ।

 

‘सायद हाम्रो प्रेम अधुरो लेखेको रहेछ’ गीतभित्र एक डाइलग छ। त्यहीं डाइलगझैँ सायद भगवानले पनि उनीहरूको प्रेम अधुरो लेखिदिएछ। त्यही जोडीलाई समर्पित गर्दै सुजनले ‘एक्लै भए नि’ गीत गाएका थिए। विवेकप्रति श्रद्धास्वरूप गीत गाउँदा दर्शकदीर्घामा सिर्जना स्वयम् उपस्थित थिइन् ।

 

त्यसैले सुजन सिर्जनालाई आड दिँदै भनिरहेका थिए, ‘उहाँ एक्लै हुनुहुन्न। हामी सबै उहाँको साथमा छौं भनेर हामीले पनि साथ दिऊँ। उहाँ पनि आज हामीसँगै यहीँ कतै हुनुहुन्छ, उहाँलाई पनि गाह्रो भइरहेको छ होला! धेरै सबैसँग खुल्न र व्यक्त गर्न पाउनुहुँदैन। त्यसैले उहाँलाई धेरै सम्मान र स्वागत गर्दै म अबको गीत सुरु गर्न चाहन्छु ।’ त्यसपछि सबैका आँखा रसाए।

उत्साहित वातावरण शान्त भयो। सायद धेरेले विवेकलाई सम्झेका होलान्। हुन पनि यो गीत सार्वजनिक हुनु र विवेकले संसार छोड्नु सँगसँगै भएको थियो। विवेकका अन्तिम संस्कारका बेलाका सिर्जनाका भिडिओहरु यसै गीतमा टिकटकभरि छाएका थिए। त्यसैलै पनि दर्शकहरु यो गीत बज्दा यो जोडीलाई सम्झिन्छन् ।

 

सुजन मञ्चमा देखिँदा उनको ढोगाईलाई सबै दर्शकले वाइवाइ गरे । तीनेपातेमार्फत आफ्नो प्रेमलाई स्विकार्छन् त कहिले एक्लै भए नि भन्दै छोडिजाने मायालाई सम्झिदा सबै दर्शक तथा श्रोताले आइ लभ यू भन्दै नारा नै लगाए । गायक सुजन खुसीसँगै गित गाउँदा सबैलाई रुवाएरै छाडे ।

 

प्रेममा परेपछि लजाउने, रिसाउने र फकाउदा दर्शक तथा श्रोताको समर्थनले कहिलेकाही निराश समेत भए सुजन । पृष्ठभूमिमा बजिरहेको ऊनको स्वीटर गीतको प्रेमिल धुनले सुजन सुजन सुजन नारा समेत लागेको हो । दर्शक, श्रोताबाट तालीको वर्षात् खाँदै मुसुक्क मुस्कुराउँदै, हात हल्लाउँदै नाच्न समेत भ्याउँथे सुजन । ती प्रेमिल गीतहरूमा मन्दमन्द डुबिरहेका थिए दर्शक श्रोताको साथले सुजनमा खुसीपन पनि देखिथ्यो ।

 

हिट म्युजिक फिल्म दिन सफल आर्टमान्डुको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुँदै छ। यसै अवसरमा हिजो काठमाडौंमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रम राखेको थियो। जहाँ गायक चापागाईं एन्ड इन्फिनिटी ब्यान्ड २ घण्टासम्म गुञ्जियो। बीचमा ‘ऊनको स्वीटर’ गीतमा समावेश गीत ‘फकाउँछ काफ्ले’मा फिल्मकै कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले नृत्य गरेका थिए।

 

सुजन मात्रै होइन, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान पनि यसै गीतबाट सबैको सम्झाईमा परे । कन्सर्टमा पनि आफ्नो र आर्टमान्डुको लागि यो गीत विशेष रहेको सुजन भनिरहेका थिए । फिल्मको टाइटल गीत ऊनको स्वीटर छुट्ने त कुरै भएन ।
भावुक वातावरणलाई केही रमाइलो बनाउन लगत्तै सुजनले फूलथुँगे रानी गाए। यसले दर्शकहरुको मनले केही राहत पायो। अन्त्यमा फिल्म ‘ऊनको स्वीटर’ मा समावेश ‘मखमली’ गीत गाउँदै कार्यक्रमको बिट मारे सुजनले ।