आफ्नै गोरु काटेको आरोपमा एक युवा पक्राउ

स्याङ्जामा गोरु काटेको आरोपमा बुधवार एक जना पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर सिम्लेका टेक भन्ने डम्बर बहादुर गुरुङ आफ्नै गोरु काटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलका अनुसार गुरुङले मङ्गलवार आफ्नै घर नजिकै बारीमा फलामको घनले टाउकोमा प्रहार गरी गोरु मारेका थिए । त्यसपश्चात् मासुलाई टुक्राटुक्रा बनाई आफ्नो घरको आँगनमा ल्याई त्रिपाल भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरी आउने सुइँको पाएपछि तत्काल फरार रहेका गुरुङ खोजतलास गर्दै जाँदा  मध्यान्न १२ बजे पुतलीबजार नगरपालिका स्थित पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका थिए ।

गोरु काटेको स्थानबाट बोरा, दाउ, चक्कु, हँसिया छुरी, स्लिप ढुङ्गा बरामद गरिएको छ । पक्राउ परेका गुरुङ माथि पशुपक्षी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट दिन १०को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।