नेपाल चेम्बर अफ कमर्सले सबै श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको बताएको छ। १३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देशमार्फत चेम्बरले यस्तो बताएको हो।
श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ। देशको संविधान २०७२ ले श्रम सम्बन्धि हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने तर्क गरेको छ ।
श्रम सम्बन्धि ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने बताउँदै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ।
चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसंग माग गरेको छ। चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ।’
सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ।