एमालेको पर्वत जिल्ला अध्यक्षकै उपस्थितिमा कुटपिट भएको भन्दै कारबाही माग

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडीको उपस्थितिमा प्रदेश सदस्य अर्जुन पौडेलमाथि भौतिक आक्रमण भएको भन्दै कारबाही माग गरेको छ। प्रदेश अध्यक्ष नवराज सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन्।

युवा संघ पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने कि पछाडि सार्ने भन्नेमा विवाद हुँदा पौडेलमाथि भौतिक आक्रमण भएको थियो। उनको टाउकोमा चोट लागेको छ। स्थानीय शान्तिदीप अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचार निम्ति पोखरा ल्याइएको छ। उनीसँगै ध्रुव श्रेष्ठ पनि घाइते भएका छन्।