नेपाल लाइफको खुल्यो ५ अर्बको लगानी इन्भेष्टमेन्ट

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।

नेपाल लाइफले पाँच अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनीका रूपमा नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले यो नयाँ यात्रा सुरु गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले २५ औं वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिव ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताउनुभएको छ ।

नेपाल लाइफले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बीमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्दै उहाँले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीहरूलाई न्यूनिकरण गर्न कम्पनीले नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको बताउनुभयो । “लगानी विविधिकरण हाम्रो मूल उद्देश्य हो, यही उद्देश्यका साथ हामीले सहायक कम्पनी स्थापना गरेका हौं,” उहाँले स्पष्ट पार्नुभयो ।

नेपाल लाइफ इन्स्योरेन्सले लगानीको विविधिकरण गर्दै सुरु गरेको नयाँ प्रयासप्रति नेपाल बीमा प्राधिकरणले प्रशंसा व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले उक्त प्रयासलाई बीमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि एक महत्वपूर्ण कदम भएको बताउनुभएको छ ।

कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स विगत २५ वर्षको अवधिमा देशकै उत्कृष्ट बीमा कम्पनीको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै, लगानीकर्तादेखि बीमित र कर्मचारीसम्म सबैको योगदानले कम्पनीलाई यो स्थानमा पुर्याएको बताउनुभयो ।

उहाँका अनुसार नेपाल लाइफले हालसम्म २ खर्ब २५ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गरिसकेको छ । कम्पनीसँग हाल १७ लाखभन्दा बढी बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेका छन् ।