आर्सनलका लागि उपाधि रहस्य

सुरुआती २७ मिनेटमा आर्सनलले त्यसरी नै खेल्यो, जित्छु जस्तो गरी । खासमा यो २७ मिनेट समग्र खेलको छोटकरी रूप थियो ।

आर्सनलका समर्थकलाई त्यो २७ मिनेटको खेलले असाध्यै पीडा दिएको हुनुपर्छ । किनभने २७ मध्ये २६ मिनेट आर्सनलले पार्क डेस प्रिन्सेसमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई दबाबमा राख्यो । मिडफिल्डमा बलियो देखिएको आर्सनलले बल आफ्नो नियन्त्रणमा राखेको थियो। बल गुमाइहाले पनि तुरुन्तै फिर्ता ल्याउने गथ्र्यो ।

पहिलो हाफको २६ मिनेट आर्सनलका कप्तान मार्टिन ओडेगार्डका लागि त स्वर्णीमकाल नै थियो । आफूले चाहे अनुसारले बल पास गरिरहेका थिए नर्वेली कप्तान । फलतः आर्सनलले ७५ प्रतिशत बल पोसेसन राख्न सकेको थियो । १० वटा क्रस निकालेका आर्सनलका खेलाडीले ६ पटक पिएसजीको पोस्टमा धावा बोलेका थिए । आर्सनल जित्नैका लागि खेल्दै थियो । शंका गर्ने कुनै ठाउँ थिएन ।

२७औँ मिनेटमा पिएसजीले बाजी पल्टायो । फाबियन रुइजले गरेको त्यो सुन्दर गोलले पिएसजी समग्रमा २(० ले अघि बढिहाल्यो ।

पार्क डेस प्रिन्सेस अजंगको रंगशाला छ । च्याम्पियन्स लिग वा अन्य कुनै पनि ठूला भिडन्तमा यहाँको माहोल चुम्बकीय हुन्छ । खेल सुरु हुनुअघि धुवाँले मैदान ढाक्छ । घरेलु समर्थकको ध्वनीले मैदानको दुबोसमेत जुरुक्कै उठ्छन् ।

यद्यपि आर्सनलका खेलाडीलाई यहाँको वातावरणले खासै फरक पारेको थिएन । किनभने उनीहरुले पहिलो मिनेटबाटै पिएसजीका खेलाडीलाई उनीहरुकै क्षेत्रमा ठेलेर खेल्ने निधो गरेका थिए । सुरुमै बल खोसेर आफ्नो पक्षमा पारेको आर्सनलले तेस्रो मिनेटमै गोल गर्नु पर्ने थियो। तर जस्टिन टिम्बरको क्रसबाट आएको बललाई डेक्लान राइसले पोस्टतिर छिराउनै सकेनन्। दुई मिनेटपछि अर्को मौका सिर्जना भयो । यसपालि थोमस पार्टेले मिडफिल्डबाट प्रहार गरेको बल पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले कसोकसो गरि बचाए ।

आर्सनल रोकिएन । आर्सनलका दुई फुलब्याक टिम्बर र माइल्स लुइस स्केलीले लगातार बल पीएसजीको क्षेत्रमा पुर्याइरहे। त्यत्तिकैमा लुइस स्केलीले प्रहार गरेको क्रसबाट बल ओडेगार्डसामु आइपुग्यो ।
आर्टेटासँग हतियार त छ तर त्यसमा धार छैन । त्यसले कुनै कुरा पनि काट्दैन । आर्सनल सायद ‘आइसिङ’ नगरेको केक जस्तै छ ।

पछिल्ला तीन वर्षमा आर्सनलले धेरै खेलमा राम्रो प्रदर्शन गरेको छ । तर ती खेलका नतिजाबाट आर्सनलले कहिल्यै महत्त्वपूर्ण उपाधि निकाल्न सकेको होइन । उसो त उपाधि जित कुनै रहस्य होइन । यो त अनुभव गर्न सकिने कुरा हो । तर यसका लागि तयार हुनुपर्छ । खेलाडी बजारमा निडर भएर निस्किनु पर्छ । करोडौं डलर कबोल गरेर कसैलाई आफ्नो बनाउनु पर्छ ।