नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक संकटको समाधानका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् । समाजवादी प्रेस संगठन उपत्यका प्रदेश कमिटीद्वारा सोमबार आयोजित कार्यक्रममा उनले मुलुकमा समानता, आर्थिक विकास, सामाजिक रुपान्तरण, न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए ।
राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अवसर उपलब्ध गराउन समाजवाद निर्विकल्प भएको बताउँदै समाजवादकै बाटोमा जानुपर्नेमा उनको जोड छ । मुलुकको लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै नेता खनालले उनीहरूले दलहरूका गलत अभ्यास, भ्रष्टाचार न्यूनीकरणका लागि समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।