ब्राजिलको मुख्य प्रशिक्षकमा कार्लो एन्सेलोट्टी नियुक्त

इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले ब्राजिलको मुख्य प्रशिक्षक सम्हाल्ने भएका छन् । ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार एक विज्ञप्ति जारी गर्दै एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हो । बीबीसी स्पोर्टसका अनुसार, एन्सेलोट्टीले सन् २०२४–२५ सिजनको अन्त्यपछि ब्राजिलको जिम्मेवारी सम्हाल्ने छन् ।

“सीबीएफ आत्मीयतासाथ कार्लो एन्सेलोट्टीलाई स्वागत गर्दछ र उनको सफल नेतृत्वको निम्ति उत्साहित छ,” सीबीएफले सोमबार एन्सेलोट्टीलाई स्वागत गर्दै सामाजिक सञ्जालमा लेखेको छ । एन्सेलोट्टी अझै पनि रियालको जिम्मेवारीमा छन् । उनी र स्पेनिस क्लबबीच सन् २०२६ सम्मको सम्झौता भए पनि रियालले सिजनको अन्त्यसँगै प्रशिक्षण जिम्मेवारी क्लबकै पूर्व खेलाडीसमेत रहेको जाभी अलोन्सोलाई सुम्पिने निश्चित भइसकेको छ ।