बागमती र लुम्बिनीको लागि अन्तरप्रदेश सहकार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा सोमवार साँझआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताए । उनले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।

‘लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ’ उनले भने, ‘चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा विकास गरेर अघि बढ्न सकिन्छ ।’ उनले व्यवसाय क्षेत्रको विकासका लागि प्रदेश सरकार अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।