अनलाइनखबरको प्रधान सम्पादकमा बस्नेत

अनलाइनखबर डटकमको प्रधान सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् ।

अनलाइनखबर नेपाल प्रा।लि।को सञ्चालक समिति बैठकले बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै निवर्तमान प्रधान सम्पादक शिव गाउँलेले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।

बस्नेतले १ साउन २०७९ देखि अनलाइनखबरमा सम्पादकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक संवाददाता, नागरिक दैनिकमा रिपोर्टिङ तथा सम्पादनको कार्य गरिसकेका छन् । अन्नपूर्ण टुडेमा सम्पादक, अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार सम्पादक, नेपाल म्यागजिनमा सम्पादक र शिलापत्र डटकममा प्रधान सम्पादकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

बस्नेतका मधेश आन्दोलनको सेरोफेरोमा लिखित ‘७२ को विस्मय’, उपन्यासहरू ‘महाभारा’ र ‘सिमसारा’ पुस्तक प्रकाशित छन् ।