सगरमाथा संवादमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।
काठमाडौंमा शुक्रबारबाट सुरु बहुप्रतीक्षित सगरमाथा संवाद कार्यक्रमको उद्घाटन तथा पूर्ण सत्रका प्रतिनिधिले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकता र ऐक्यबद्धताका लागि आह्वान गरेका हुन् ।
नेपाल, भारत, चीन, पाकिस्तन, बंगलादेश, भुटान, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमान लागयत देशका प्रतिनिधि सम्मेलनमा सहभागी छन् । यस्तै, अन्तरराष्ट्रिय र क्षेत्रीय संगठनहरू संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक, इसिमोडका प्रतिनिधिले पनि यस्तो ऐक्यबद्धताका लागि आह्वान गरेका छन् ।
दुवै सत्र सकिएपछि आयोजित बिफ्रिङमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्यताका साथ सम्पन्न भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गरेका थिए । आफ्नो सम्बोधनअघि, प्रधानमन्त्री ओलीले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अनावरण गर्नुभएको थियो । भने कोप–२९ का अध्यक्ष मुख्तार बेबायेभलाई हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, कोप २९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे धारणा राख्नुभयो ।
जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिनुभयो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए गर्नुभएको थियो ।