गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिराहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम लागू गरेको छ ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षाकोठाको संख्याअनुसार ३३० थान ‘सिलिङ पंखा’ वितरण गर्नुभएको हो ।
नगरपालिकाले आफ्नो १५औँ नगर सभाबाट चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पंखा वितरण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पंखा हुनुपर्ने उद्देश्य राखेर पंखा वितरण गरिएको हो । पंखा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्नेछौँ ।’
लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षाकोठामा पंखा नहुँदा गर्मी मौसममा विद्यार्थीहरूले पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पंखा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताउनुभयो। उहाँले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।