ट्रम्पलाई खुसी पार्न खाडी देशहरुबीच होडबाजी

ट्रम्पलाई भव्य स्वागत र आतिथ्य प्रदान गर्न खाडीका देशहरुबीच होडबाजी नै चलेको छ । ट्रम्प गत मंगलबार साउदी राजधानी रियाद पुग्दा त्यहाँ उनलाई भव्य स्वागत गरिएको थियो । रियाद पुग्दा नपुग्दै ट्रम्प चढेको एअरफोर्स वान जहाजलाई साउदी वायुसेनाका ६ वटा अमेरिकामा निर्मित एफ १५ लडाकु विमानमा सुरक्षा प्रदान गरेका थिए ।

उनको स्वागतमा साउदी अरबका युवराज मोहम्मद बिन सलमान नै विमानस्थल पुगेका थिए । साउदी अधिराज्यका युवराजले कसैलाई विमानस्थल पुगेर स्वागत गर्नुलाई निकै दुर्लभ घटना र उच्च सम्मान दिइएको मानिन्छ । उनको सवारी लस्करलाई साउदी दरबारसम्म पुग्दा सेतो अरबी घोडामा सवार सैनिकले सुरक्षा प्रदान गरेका थिए । दरबारमा सुनले बनेको तरबार बोकेका सैनिकले सलामी दिएका थिए ।

कतारमा पनि उनले उच्च सम्मान पाए । उनलाई राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कतारी अमिर तमिम बिन हमाद अल थानी आफैँ पुगेका थिए । कतारी दरबारमा पुग्दा ट्रम्पको सवारी लस्करलाई रातो टेस्ला साइबरट्रक तथा अरबी घोडा र उँटमा सवार सुरक्षाकर्मीले सुरक्षा प्रदान गरेका थिए । ट्रम्प कतारी आतिथ्यताबाट पनि धेरै प्रभावित भए । आमिरी दरबार पुग्दा उनले भनेका थिए, ‘मैले यस्ता उँट धेरै लामो समयदेखि देखेको थिइनँ । र, साँच्चै भन्दा हामी यसप्रति कृतज्ञ छौँ ।’

संयुक्त अरब इमिरेट्स यूएईमा पनि ट्रम्पले गतिलो स्वागत पाए । राजधानी अबु धाबीस्थित विमानस्थलमा ट्रम्पलाई स्वागत गर्न यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयान आफैँ उपस्थित भएका थिए ।

अबु धाबी दरबारमा उनलाई यूएईका दुई दर्जनजति अरब कन्याहरुले कपाल हल्लाएर अल अयाला भनिने विशेष नृत्यसहित स्वागत गरेका थिए । यूएईमा ट्रम्पलाई त्यहाँका राष्ट्रपति शेख मोहम्मदले सर्वोच्च नागरिक सम्मान अर्डर अफ जायद पनि प्रदान गरेका थिए । मुसलमानविरोधी नेताको छवि बनाएका उनले यूएईमा रहँदा शेख जायद मस्जिदको पनि भ्रमण गरेका थिए ।