‘स्कुल टु ओलम्पिक’ पुलिस स्कुल साँगामा

नेपाल ओलम्पियन्स संघको‌ स्कुल टु ओलम्पिक कार्यक्रम यो वर्ष पनि सुरु भएको छ। झन्डै ४ वर्ष अघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु भएको थियो।

संघले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा शुक्रवार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो।

ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी राष्ट्रिय खेलाडी उषा भण्डारीले आफ्नो खेल यात्राका बारेमा पुलिस स्कुलका विद्यार्थीसँग अनुभव साटेका थिए।

सोही पुलिस स्कुलमा समेत अध्ययन गरेका प्रिन्स आफ्नो बुवाको प्रभावबाट ब्याडमिन्टन खेल्न सुरु गरेको बताए। उनले पुलिस स्कुलमा हुँदा ब्याडमिन्टन खेलेको दिनको पनि स्मरण गरे।

उषाले बुवाको करले भलिबल सुरु गरेपनि पनि पछि यसैमा रमाउन थालेको बताइन् । उनले खेलले पढाईमा असर गर्ने भएपनि त्यसलाई व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने बताइन् ।

मनिताले होस्टेलमा बस्ने क्रममा विस्तारै जुडो खेलमा आकर्षित भएको र आफ्नो गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिकसम्म पुगेको बताइन् ।

सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्न सक्ने बताइन् ।

पुलिस स्कुलका विद्यार्थीले पढाइ र खेललाई कसरीसँगै लान सकिन्छ भन्ने प्रश्नमा सन्तोषीले भनिन्, ‘समय अनुसार खेल र अध्ययनलाई प्राथमिकतामा राखेर तयारी गर्नु उपयुक्त हुन्छ।’

विभिन्न खेलमा प्रशिक्षण गरिरहेका आफ्ना विद्यार्थीलाई पुलिसले कार्यक्रममा सहभागी गरेको थियो। उनीहरुले उत्साहित हुँदै खेलाडीहरुलाई प्रश्न राखेका थिए।

स्कुलका कराते, तेक्वान्दो,जुडो र जिम्न्यास्टिकका खेलाडीले डेमोस्ट्रेसन र नृत्य प्रस्तुत गरेका थिए।