ओपनरद्वय साइ सुदर्शनको अविजित शतक र कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएपछि गुजरात टाइटान्सले दिल्ली क्यापिटल्समाथि १० विकेटको शानदार जित निकाल्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
आइतबार भएको दोस्रो खेलमा दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो । सुदर्शन ६१ बलमा १२ चौका र ४ छक्कासहित १०३ रनमा अविजित रहे । कप्तान गिल ५३ बलमा ३ चौका र ७ छक्कासहित ९३ रनमा अविजित रहे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । दिल्लीका लागि पनि ओपनर केएल राहुलले अविजित ११२ रनको शतकीय पारी खेले ।
अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले १-१ विकेट लिए ।