कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको छ । लामो समयदेखि कम्बोडियामा अलपत्र एक पुरुष र एक महिला काठमाडौं आइपुगेका छन् ।
सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान र कसैको प्रलोभनमा नगर्न पनि दूतावासले आग्रह गरेको छ । भनिएको छ, ‘कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास पुनः अनुरोध गर्दछ ।’
यता वैदेशिक रोजगार विभागले पनि कानूनविपरीत वैदेशिक रोजगारमा नपठाउन चेतावनी दिएको छ । कतिपय व्यक्ति तथा संस्थाले गैरकानूनी तवरले वैदेशिक रोजगारीमा पठाएको व्यापक जनगुनासो आएको भन्दै विभागले यस्तो चेतावनी दिएको हो ।
विभागले आज शुक्रबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ मा भएको प्रावधानबमोजिम मात्र विदेश पठाउन अनुरोध गरेको छ । अन्यथा, कारबाही गर्ने चेतावनी छ ।
कतिपय व्यक्ति शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरुले नेपाली श्रमिकलाई विदेश पठाइदिने भनी सूचना निकालेर राहदानी र अन्य कागजात संकलन गरी नक्कली कागजात तयार पारेर विदेश पठाउने गरेको उजुरीहरु परेको बताइन्छ ।