ईभीमा लगानी,बैंकको किस्ता तिर्न कुनै समस्या छैन

समयको क्रमसँगै व्यवसायीहरू पनि लगानीका लागि एकपछि अर्को माध्यमको खोजीमा हुन्छन् । कोही एकै प्रकारको व्यवसायमा लगानी लगाइरहेका हुन्छन् भने कोही फरक प्रकृतिको व्यवसायमा समेत हात हालिरहेका हुन्छन् । पछिल्ला वर्षहरू यातायातको क्षेत्रमा लगानी गर्नेहरूले आफ्नो लगानी एकै प्रकारको अर्को क्षेत्रमा ट्रान्सफर गरिरहेका छन् । त्यो हो, ईभी अर्थात् इलेक्ट्रिक भेइकल ।

सरकारले ईभीलाई प्राथमिकता दिने नीति लिएसँगै केही वर्षदेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीमा लगानी गर्नेहरू एकै क्षेत्र तर फरक किसिमको व्यवसाय अर्थात् ईभीमा लगानी गरिरहेका छन् ।

राम्रो प्रतिफल र बचतका कारण व्यवसायीहरू त्यसबाट सन्तुष्ट देखिन्छन् भने ऋण लिएर व्यवसाय गर्नेहरूबाट समयमै किस्ता आउँदा बैंकहरु समेत खुसी देखिन्छन् ।

कोरोनापछि शिथिल बनेको बजारमा ईभीमा लगानी गर्नेहरू बढेसँगै बैङ्कहरूको ऋण प्रवाह समेत बढेको छ । बजारमा ऋणको प्रवाह बढ्दा एकातिर बैङ्किङ क्षेत्र अझै लगानी बढाउने तयारीमा देखिन्छ भने अर्कोतिर व्यवसायमा लगानी बढाउनेहरू समेत उत्तिकै देखिन्छन् ।

तर राज्यले कहिले कर नीतिमा परिवर्तन त कहिले बैंकबाट प्रवाह हुने लोनको सीमा अर्थात् लोन टु भ्यालु रेसियोमा परिवर्तन गरिरहँदा व्यवसायी र बैंक नै मर्कामा पर्ने गरेका छन् ।

किस्ता तिर्न सहजता
हरेक मान्छेले आफैँसँग पैसा भएर मात्रै लगानी गरिरहेका हुँदैनन् । आफ्नो व्यावसायिक योजनालाई सार्थक बनाउन साथीभाइ, आफन्त र बैंकसँग समेत कर्जा लिइरहेका हुन्छन् । निश्चित समयपछि कर्जा तिर्नुपर्ने भएका कारण सुरु गरेको व्यवसायबाट प्रतिफल आएन भने त्यसले समस्या सिर्जना गर्दछ ।

जस कारण राम्रो प्रतिफल पाउने, किस्ता तिर्न सहज हुने मात्र नभएर आफ्नो घर खर्च समेत चलाएर थप व्यवसाय विस्तार गर्न समेत मान्छेले ऋण लिइरहेका हुन्छन् । पछिल्ला वर्षहरू ईभीमा लगानी त्यस्तै सार्थक व्यवसायको एक माध्यम बनेको छ । राम्रो प्रतिफल पाइने, बचत हुने र त्यसबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सकिने भएपछि ईभीमा लगानी बढिरहेको छ ।

आफूहरूसँग धेरै व्यवसायीहरूले व्यावसायिक कर्जा निकालेर ईभीमा लगानी गरेको र किस्ताका लागि कुनै समस्या नभएको नुवाकोटको बट्टार शाखामा कार्यरत एनएमबी बैंकका ब्रान्च म्यानेजर जीवन बोगटी बताउनुहुन्छ । रिटर्न राम्रै रहेको बुझिन्छ । त्यही भएर होला हामीले ईभीमा लगानी गर्ने कुनै व्यवसायीले कर्जा र किस्ता तिरेन भन्ने गुनासो गर्नुपरेको छैन, किस्ता किन आएन भनेर कसैलाई फोन नपरेको उहाँले बताउनुभयो ।