बैंक तथा वित्तीय संस्थाहरूमा अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह हुन नसकेको भन्दै राष्ट्र बैंकले उक्त नीतिगत व्यवस्था परिवर्तन गरेको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन प्रस्टरुपमा सन्देश दिएको छ। अनिवार्य नगद मौज्दातमा बैंकहरूले कायम गर्नुपर्ने नगद मौज्दातको अनुपात बढाएर राष्ट्र बैंकले ब्याजदर वृद्धिका लागि तयारी अवस्थामा रहन बैंकहरूलाई प्रस्ट सन्देश दिएको छ।
राष्ट्र बैंकको निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामा निक्षेप जम्मा गरेर सधैँ ब्याज दिन नसक्ने भन्दै राष्ट्र बैंकले कर्जा लगानीमा तीब्रता दिनसमेत बैंकहरूमाथि दबाब दिएको छ।
यस्तै बैंकहरूको प्रोभिजनिङ बढाएरै भएपनि प्रणालीबाट तरलता घटाउँदै लगिने र अहिलेकै ब्याजदरमा सधैँ कर्जा दिन नसकिने सन्देश दिँदै राष्ट्र बैंकले कर्जा लिनका लागि यो उपयुक्त समय भएको जनाएको छ।
हाल बैंकहरूको ब्याजदर ऐतिहासिक न्यून बिन्दुमा छ। औसत ब्याजदर गणनायताकै कर्जाको औसत ब्याजदर सबैभन्दा कम अर्थात ८.२२ प्रतिशतमा आएको छ। यस्तै निक्षेपको ब्याजदरसमेत औसत ४.४५ प्रतिशतमा झरेको छ।