महिला फुटबल टोलीको प्रशिक्षकका लागि २२ जनाको आवेदन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न २२ जना इच्छुक देखिएका छन्।

एन्फाको मागअनुसार २२ जनाले मुख्य प्रशिक्षक बन्न आवेदन दिएका हुन्। आवेदन दिनेमध्ये चार जना महिला पनि छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला टोलीको प्रशिक्षक बन्नका लागि प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन माग गरेको थियो।

एन्फाका अनुसार प्रो–लाइसेन्स गरेकादेखि एएफसी ए, यूईएफए प्रो, एएफसी प्रो, यूईएफए ए लाइसेन्स गरेकासम्मले आवेदन दिएका छन्।

भारतसहित स्पेन, इटाली, अस्ट्रेलिया, पोल्यान्ड, सर्विया, ब्राजिल, अमेरिका, क्रोएसिया, ग्रिस, क्यानडा, इरान र बेल्जियमलगायत देशबाट आवेदन परेको हो। उनीहरूमध्ये केही प्रशिक्षकले नेपाल सुपर लिग (एनएसएल)को टोली समेत हेरिसकेका छन्।

एन्फाले केही दिनमा नै मुख्य प्रशिक्षक सार्वजनिक गर्ने तयारी गरेको छ। विदेशी प्रशिक्षकसँग एन्फाले सुरुवातमा १ वर्षको सम्झौता गर्ने तयारी गरेको छ।

एन्फाले गत वैशाख ८ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’को आवेदन खुलाएको थियो।

यसैबीच, नेपाली महिला टोली थाइल्यान्डसँगको एक अभ्यास र एक मैत्रीपूर्ण खेल खेल्न आज बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाली टोली फर्किएर आउँदा विदेशी मुख्य प्रशिक्षक पाउने एन्फाले जनाएको छ ।