१३ सय २७ योजना राष्ट्रिय आयोजना बैंकमा

राष्ट्रिय आयोजना बैंकमा १ हजार ३ सय २७ आयोजना प्रविष्ट भएका छन् । राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ मार्फत प्रणाली स्तरोन्नति गरी फागुन २०८१ देखि सञ्चालनमा ल्याएको थियो ।

आगामी बजेटमा समावेश गरिने आयोजना यसै आयोजना बैंकमार्फत नै प्रविष्ट भएपछि मात्र हुने भएकाले यसलाई महत्वसाथ हेरिएको हो । आयोगका अनुसार १३ जेठसम्म राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमा १ हजार ३ सय २७ आयोजना प्रविष्ट भएको देखिएको छ ।

यसरी प्रविष्ट भएका आयोजनाको कुल लागत ९ खर्ब २० अर्ब रुपैयाँ बराबर छ । यसमध्ये १ हजार १ सय ४१ आयोजना ३ करोड रुपैयाँ लागतका छन् । सरकारले त्यसभन्दा साना आयोजना यस वर्षदेखि बजेटमा नराख्ने बताइसकेको छ ।

त्यस्तै ३ देखि ५ करोडसम्म लागत भएका ७९ आयोजना छन् । ५ देखि १० करोडसम्मका ४४ आयोजना परेका छन् । १० करोडदेखि १ अर्ब रुपैयाँसम्मका २३ आयोजना प्रविष्ट भएका छन् । १ अर्ब रुपैयाँ भन्दा बढी लागतका ४० आयोजना छन् ।

१ अर्बभन्दा बढी लागतका आयोजनामध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा धेरै १९ आयोजना छन् । दोस्रोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ११ छन् ।