गणतन्त्र माओवादीको मात्रै हो भनेर राजावादीहरु भ्रम फैलाउँदै छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कथित राजावादीहरुले गणतन्त्र माओवादीको मात्रै हो भन्दै भ्रम फैलाइरहेका बताएका छन्। योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘अहिले कथित राजावादीहरु जो बितण्डा गर्दैछन् उनीहरुले यो गणतन्त्र माओवादीको बलमा आएको हो, अरुको होइन, माओवादीको मात्रै हो, प्रचण्डले ल्याएको गणतन्त्र हो, बेकारमा कांग्रेस–एमालेले आफू पनि गणतन्त्रवादी भन्छन्, भ्रममा बसेका छन् भन्ने प्रचार तपाइँहरुले पक्कै सुन्नु भएको होला।’

गणतन्त्र ल्याउन माओवादी र जनयुद्धको भूमिका प्रमुख र निर्णायक रहेको इतिहासलाई कसैले नकार्न नसक्ने उल्लेख गर्दै प्रचण्डले माओवादी एक्लैको भने नरहेको प्रष्ट पारे।
माओवादी र प्रचण्डलाई एक्लो पार्ने उद्देश्यले भ्रम फैलाइएको दाबी गर्दै उनले भने, ‘यो गणतन्त्र आम नेपाली जनताको हो। सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायको हो। सबैले लडेर ल्याएको गणतन्त्र हो र यो गणतन्त्रलाई पछिल्लो चरणमा पार्टीहरुले पनि समर्थन गरेको हो। अन्तत: यो गणतन्त्र नेपाली जनताको गणतन्त्र हो।’