आफ्नै खबर अनलाइन पत्रिकाका सम्पादक आलोक चालिसेलाई पितृशोक परेको छ । सम्पादक चालिसेका पिता वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको शुक्रबार दिउँसो नेपाल मेडिकल कलेजमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित ७४ वर्षीय चालिसे केही समययता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हाल घरमै आराम गरिरहनुभएका उहाँलाई अचानक कमजोरीले सताएपछि शुक्रबार बिहानै अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । बिहान सवा १० बजे अस्पतालमै उहाँको निधन भएको हो ।
आरुबारी निवासी चालिसेको आजै गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा संघीय संसद अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामाले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।
चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक हुनुहुन्थ्यो । उहाँले साहित्यिक पत्रिका मधुपर्क र युवामञ्चको सम्पादकका रुपमा समेत काम गर्नुभएको थियो । प्रेस स्वतन्त्रताका अग्रणी चालिसे प्रेस चौतारी नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।