ललितपुरको लगनखेलस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भेटेरीनरी एम्बुलेन्स कवाड बनाइएको छ । बागमती प्रदेश सरकारले किनेर दिएको नयाँ एम्बुलेन्स प्रयोगमा ल्याउनुको सट्टा तीन वर्षदेखि कवाड बनाएर थन्क्याइएको हो । अस्पताललाई बागमतीको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नयाँ एम्बुलेन्स किनेर दिएको थियो ।
प्रदेश सरकारले नयाँ एम्बुलेन्स किनेर हस्तान्तरण गरे पनि पशु सेवा कार्यालयअन्तर्गत सञ्चालित अस्पतालले प्रयोग नै नगरी पार्किङमा थन्क्याएर राखेको छ । प्रदेश.३.०३.००१ झ ००३९ नम्बरको एनिमल रेस्क्यु भ्यान प्रयोग नै नगरी थन्क्याएर राखिएको हो ।
बिरामी जनावरलाई रेस्क्यु गर्ने र इमर्जेन्सीमा रहेका पशुलाई अस्पतालमा ल्याएर उपचार गराउने प्रयोजनका लागि प्रदेश सरकारले अस्पताललाई ३ वर्षअघि उक्त एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।
‘हस्तान्तरण गरिएको १-२ महिनाजति एम्बुलेन्स सञ्चालनमा आयो तर, त्यसपछि प्रयोगमा नै आउन सकेको छैन,’ अस्पतालमा कार्यरत एक कर्मचारीले लोकान्तरसँग भने, ‘ड्राइभर नभएर एम्बुलेन्स नचलेको भन्ने सुनेका छौं ।’
भेटेरीनरी अस्पतालकी सूचना अधिकारी डा. सुशीला श्रेष्ठले, एम्बुलेन्स थन्क्याएको बारे अनभिज्ञता प्रकट गर्नभयो। यसबारे आफूलाई केही जानकारी नभएको उहाँले बताउँदे भन्नुभयो, ‘यस विषयमा मलाई केही थाहा छैन । ड्राइभरको दरबन्दी नभएर प्रयोगमा नआएको भन्ने सुनेको छु,’ श्रेष्ठले लोकान्तरसँग भनिन्, ‘कार्यालय प्रमुखलाई नै सोध्नुहोस् ।’
कार्यालय प्रमुख डा. प्रभात न्यौपानेले अबको केही दिनपछि एम्बुलेन्स सञ्चालनमा ल्याइने बताए । ‘त्यो एम्बुलेन्स ३ वर्षदेखि प्रयोगमा नआएकोले राख्दाराख्दै बिग्रिएको बताउनुभयो । उहाँले भन्ुभयो, ‘विगतमा मर्मत गर्ने बजेट पनि थिएन । तर, चालू आर्थिक वर्षमा मर्मत गर्न बजेटसमेत विनियोजित भएको छ । अबको केही दिनभित्रै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउँछौं ।’
शुरूमा डिमान्ड नै नआएकोले एम्बुलेन्स प्रयोगमा नभएको उहाको भनाइ छ । ‘पहिलो कुरा हाम्रो अस्पतालको इमर्जेन्सी सेवा १० देखि ४ बजेसम्म ६ घन्टा मात्र सञ्चालनमा हुन्छ । मान्छेले रातिको समयमा पनि फोन गर्ने हुँदा उपचार गर्न सम्भव हुँदैन,’ उहाँले थप्नुभयो, ‘त्यसपछि हामीले सडकका छाडा पशुलाई रेस्क्यु गरेर उपचार गरे पनि त्यसलाई कसको जिम्मा लगाउने भन्ने समस्या हुन्छ ।’
उपचार गरिसकेपछि कुन निकायलाई जिम्मा लगाउने भन्ने कुराको यकिन नहुनाले एम्बुलेन्स सञ्चालनमा आउन नसकेको उहाँले खुलाउनुभयो । त्यसबाहेक एम्बुलेन्स सञ्चालनका लागि सवारी चालकको दरबन्दी पनि नभएको उहाको भनाइ छ ।
‘कार्यालयमा दुई वटा गाडी छन् । सवारी चालक १ जना मात्र कार्यरत छन्,’ उहाँले थप्नुभयो, ‘एउटा गाडी म आफैं चढ्छु भने अर्को गाडी कार्यालय प्रयोजनको लागि प्रयोग हुन्छ ।’ एम्बुलेन्सको मूल्य झन्डै २५ लाख रूपैयाँ हाराहारी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्स आफूहरूको कार्यालयमा मात्र नभएर अन्य अस्पतालमा पनि प्रयोगमा नरहेको उहाको जिकिर छ । ‘हाम्रो अस्पतालमा मात्र होइन, अन्य अस्पतालमा पनि त्यही समस्या छ,’ उहाँले भन्नुभयो, ‘मकवानपुरको भेटेरीनरी अस्पतालमा पनि एम्बुलेन्स सञ्चालनमा छैन ।’
लोकान्तरबाट साभार