हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । सोमबार गाजा शहरमा शोक समेत मनाइएको छ ।

आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो ।

अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन्  ।

मृत्युमा शोक मनाउन मानिसहरू अल शिफा अस्पतालको आँगनमा उभिएका थिए। ‘यो अपराधले प्यालेस्टिनी पत्रकारिता विरुद्ध गरिएका अपराधहरूको लामो रेकर्डमा थप्छ। अक्टोबर ७ (२०२३)देखि, प्रेस विरुद्ध गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नरसंहारमा २३० भन्दा बढी पत्रकार मारिएका छन् । यसअघि कुनै पनि स्थानीय वा अन्तर्राष्ट्रिय द्वन्द्वमा वा विश्वयुद्धको समयमा पनि यति ठूलो संख्यामा पत्रकारहरू मारिएका थिएनन्,’ प्यालेस्टिनी पत्रकार सिन्डिकेटका सचिव अहेद फरवानाले भने ।

‘यो अर्को ठूलो अपराध हो । यसले गाजाको आवाजलाई चर्को बनाएको, इजरायलले मारेका र विरुद्ध उक्साएका पत्रकारहरूको तस्बिर एवम आवाजले स्क्रिन भरिएको मूल्य चुकाइरहेका छौं । विश्वले अब इजरायली कब्जालाई जवाफदेही बनाउन र गाजामा नागरिक एवम पत्रकारहरूको हत्या रोक्न एक कदम अगाडि बढ्नुपर्छ,’ गाजाका अल जजीरा संवाददाता हिशाम जाकौतले भने ।

अल जजीरा मिडिया नेटवर्कले सोमबार गाजामा इजरायली सेनाद्वारा आफ्ना पाँच कर्मचारीको हत्याको निन्दा गरेको छ । नेटवर्कका अनुसार, इजरायली सेनाले आइतबार गाजा शहरको अल–शिफा अस्पताल अगाडि रहेको पालमा आक्रमण गरेर आफ्ना संवाददाताहरूको हत्या गरेको छ ।

अल जजीराले विज्ञप्तिमार्फत आक्रमणलाई ‘प्रेस स्वतन्त्रतामाथिको अर्को स्पष्ट र पूर्वनियोजित आक्रमण’ भनेर वर्णन गरेको छ । कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे)का अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा भइरहेको युद्धमा परेर हालसम्म १८६ जना पत्रकार मारिएका छन् ।