जलवायु परिवर्तनले मानव जातिको अस्तित्व नै संकटमा पार्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको बताएका छन् ।

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनका असरहरुले संकटमा परेको भन्दै त्यसको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका हुन् ।

उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ ।’

अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको भन्दै भने, ‘हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं ।’

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको पनि बताए ।कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्ति बहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेताहरू तथा विज्ञहरूको समेत उपस्थिति थियो।