आन्दोलनको स्वरूप र भविष्यको बाटो

मुलुकमा भ्रष्टाचार र बेतिथि छोटो समयको समस्या होइन, दशकौँदेखि जारी नियति हो । नयाँ नेतृत्वका नाममा आएका व्यक्तिहरूले पनि अन्तत: जनतालाई निराश नै पारे । मुलुकलाई चुस्नेहरूको कमी कहिल्यै भएन । यही अवस्थाले जेन–जी पुस्तामा वितृष्णा बढाउँदै लग्यो । पछिल्लो समय सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा आक्रोश झन् चर्कियो र आन्दोलन सुरु भयो ।

हिजोको आन्दोलनमा डेढ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाए भने सयौँ घाइते भए, आज पनि त्यही पीडा दोहोरियो । यो निकै दुखद पक्ष हो । जनताका मुद्दा र पीडा जायज छन्, तर आन्दोलनको तरिका नै प्रश्नवाचक बनेको छ । सिंहदरबार, अख्तियार, सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालय जलाउनु के उचित हो ? भ्रष्ट नेताहरूलाई सबक सिकाउने कुरा ठीक भए पनि सार्वजनिक सम्पत्ति र निजी जीवन ध्वस्त पार्नु भावी पुस्ताका लागि हानिकारक हुन्छ ।

अर्को चिन्ताजनक पक्ष भनेको यस आन्दोलनलाई कसैले राजनीतिक लाभका लागि प्रयोग गरेको त होइन भन्ने हो । आन्दोलनकै आडमा कैदीहरू छोड्नु वा अराजकता फैलिनु गम्भीर प्रश्न हुन् । आखिर हामीले चाहेको मुलुक कस्तो ? सबै कुरा भत्काएर नेतृत्व सम्भव हुन्छ ? नेतृत्व बनाउनभन्दा भत्काउन सजिलो हुन्छ, तर भविष्य त्यस्तो बाटोले उज्यालो हुँदैन ।

भगवान बुद्ध जन्माएको भूमिमा हिंसाबाट होइन, शान्तिपूर्ण बाटोबाट मात्र स्थायी समाधान सम्भव हुन्छ । जेन–जीको आक्रोशलाई सकारात्मक ऊर्जा बनाएर सिर्जनशील आन्दोलनतर्फ मोड्नु आजको आवश्यकता हो ।