विराटनगर । विभिन्न समूह र पक्षले आफ्ना माग राख्दै विराटनगर महानगरलगायत मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा हिंसात्मक गतिविधि भड्किने सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय, मोरङले कफ्र्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २५ गते बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश जारी गरेका हुन् ।
प्रशासनले जारी गरेको आदेशअनुसार मिति २०८२ भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म मोरङ जिल्लाभर कफ्र्यू लागु हुनेछ ।
कफ्र्यू अवधिमा दमकल, एम्बुलेन्स, शववाहन र स्वास्थ्यकर्मी सवार सवारीबाहेक कुनै पनि किसिमका सवारीसाधन सञ्चालन गर्न नपाउनेछ । त्यस्तै सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ ।
प्रशासनले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।