काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै उनले मृतकहरुको परिवारलाई काजकिरिया वापत् प्रति मृतक रु एक लाख उपलब्ध गराउने र परिवारको सदस्यहरुको आग्रह अनुसार शवहरुको व्यवस्थापनको लागि नि:शुल्क सवारी साधन एंव दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय पनि भएको बताए ।
उनले भने, ‘प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । मृतकहरुको परिवारलाई काजकिरिया वापत् प्रति मृतक रु एक लाख उपलब्ध गराउने रकमको व्यवस्थापन अर्थमन्त्रालयले गर्ने, परिवारको सदस्यहरुको आग्रह अनुसार शवहरुको व्यवस्थापनका लागि निशूल्क सवारी साधन एंव दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने भनेर तीनवटा निर्णय गरेका छौ ।’
यस्तै, उनले अब पुरानै परपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘देशको पछिल्लो परिस्थिती असामान्यबाट सामान्य तर्फ आउँदैछ । यसलाई सामान्य गरेर घाइते, मृतक, पीडित र आन्दोलनरत पक्ष सबैलाई सामान्य बनाएर विश्वासको वातावरण कसरी बनाउने र लोकतान्त्रि प्रक्रियालाई कसरी सुचारु गर्ने भन्ने अहिलेको मूल विषय वस्तु बनेको छ । यसलाई केन्द्रमा राखेर हामीले कसरी काम गर्ने भन्ने कुरा आउँछ । हामीले पूरानै परपाटीबाट सोचेर हुदैँन् । अहिले जुन विद्रोह भयो त्यो विद्रोहले कतिपय संस्थाहरुमा विनाश पनि गरेको छ । यसलाई सुधार गर्नुपर्छ र राज्यको मात्र होइन हाम्रो व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नु पर्छ ।’