खोप केन्द्रको ७ कठ्ठा जग्गा भारतीय नागरिकको नाममा

मोरङको सुनवर्षी नगरपालिकामा रहेको सरकारी खोप केन्द्रको जग्गा भारतीय नागरिकको नाममा पुगेको रहस्य बाहिरिएको छ ।

रंगेली मालपोत कार्यालयका कर्मचारीसँगको मिलोमतोमा व्यक्तिको नाममा नामसारी गरी बेचबिखन समेत भएको हो ।

७ कठ्ठा जग्गा कीर्ते गरी एक भारतीय नागरिकको नाममा दर्ता गरिएको रहस्य खुलेको छ ।

दशकौंदेखि खोप केन्द्रको भोगचलनमा रहेको करोडौं मूल्यको सार्वजनिक जग्गा मालपोतका कर्मचारीसँगको मिलोमतोमा व्यक्तिको नाममा नामसारी गरी बेचबिखन भएको पाइएको सुनवर्षी नगरपालिकाले जनाएको छ ।

सुनवर्षी नगरपालिका वडा नं ९ साबिक डाईनिया गाविसवडा नं. ९. मा रहेको कित्ता नम्बर १६६ को ०–७–० (सात कठ्ठा) क्षेत्रफल भएको जग्गा २०३६ असार २७ गते नापी भएको थियो ।

उक्त नापीअनुसार फिल्डबूक २०७४ फागुन २३ गते प्राप्त गर्दा सो जग्गाको जोताहा तथा जग्गाधनी नाम थर महलमा खाली थियो ।

२०७४ सालमा भने कर्मचारी र बिचौलियाको मिलेमतोमा भारतको बिहार राज्य, अररिया जिल्ला, सिकटी प्रखण्ड, मुरारीपुर निवासी पद्मादेवी गनगाइँको नाममा दर्ता भएको पाइएको हो ।

उनी भारतमा बस्दै आएको नै ३० वर्षभन्दा बढी भएको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले बताए ।

 

 

लोकान्तरबाट साभार