न्यारोबडी विमानमा राखिएको भाडाको इन्जिनको झन्डै ४२ करोड रुपैयाँ बिल भुक्तानी नगरेको भन्दै इजरायली कम्पनी आईएआईले नेपाल वायुसेवा निगमसँग सम्झौता रद्द गरेको छ ।
यो निर्णयले निगमको लुम्बिनी नामको न्यारोबडी विमान अब उडाउन मिल्ने छैन । जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक करोडौं रुपैयाँबराबरको कारोबार गुमाउनुपर्ने छ ।
पटक–पटकको ताकेतामा पनि इन्जिनको भाडा नबुझाएपछि इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) ले निगमलाई बुधबार इमेल लेखेर इन्जिन लिज सम्झौता रद्द भएको जनाएको छ ।
नेपाल वायुसेवा निगमले इजरायली कम्पनीलाई बुझाउन बाँकी ४१ करोड ७१ लाख रुपैयाँबराबरको हिसाब आउने डलर भुक्तानी नगरेका कारण विमान इन्जिन लिज सम्झौता खारेज गरिएको हो ।
निगमले २०८० माघदेखि लुम्बिनी नामको न्यारोबडी विमानमा भाडाको इन्जिन राखेर उडान भर्दै आएको छ । यसको दैनिक भाडा २४ सय अमेरिकी डलर ९३ लाख ३८ हजार रुपैयाँ हाराहारी पर्छ ।
जहाज उडेको अवस्थामा प्रति घण्टाको २ सय ४० डलर (३३ हजार रुपैयाँ) र प्रति उडान साइकल २ सय ४० डलर (३३ हजार रुपैयाँ)का दरले भाडामा थप शुल्क जोडिँदै जान्छ । निगमले भाडाको इन्जिन प्रयोग गरेको २२ महिना हाराहारी भइसकेको छ । यो बीचमा पर्यटन मन्त्रालयमा तीन मन्त्री (सुदन किराँती, हितबहादुर तामाङ, बद्री पाण्डे) र तीनवटा सरकार फेरिइसकेका छन् ।
इजरायलले त्यसताका निगमसँग गरेको सम्झौतामा भाडा इन्जिन हरेक दिन १० घण्टा उड्नुपर्ने नभए अतिरिक्त विलम्ब शुल्क लाग्ने शर्त लेखेको छ । यो इन्जिन भाडा तीन महिनाका लागि मात्रै थियो ।
तर २० महिना बितिसक्दा निगमले न त भाडाको रकम बुझाएको छ, न त ८ महिनाअघि मर्मत भइसकेको आफ्नो इन्जिन इजरायलको वर्कशपबाट फिर्ता ल्याउन सकेको छ ।
ईकान्तिपुरबाट साभार