हरेक एकादशीको पृथक महत्व छ । त्यसमध्ये हरिबोधिनी एकादशीको विशेष महत्व छ । यो चतुर्मास व्रतको अन्त्यको दिन हो । चतुर्मास व्रत आषाढ शुक्ल एकादशीबाट सुरु हुन्छ र कार्तिक शुक्ल एकादशीमा गएर चतुर्मास व्रत अन्त्य हुन्छ ।
विशेषगरी सत्य युगमा बृन्दाको श्रापबाट भगवान विष्णु घाँसका रुपमा उत्पत्ति हुनुभयो र तुलसीको रुपमा उहाँ पूजिनु भएको धार्मिक विश्वास छ ।
आषाढ शुक्ल एकादशीको दिन धर्तीमा आएर शयन गर्नुभएको र सुत्नुभएको भनाइ छ । र कार्तिक शुक्ल एकादशीको दिन उहाँ जागा हुनुभएको र उठ्नुभएको विश्वास छ । वितेको चार महिना नारायण सुतेको हुनाले धर्ती वा मत्र्यलोकभरी सबै जागा नहुने गरेको पाइन्छ ।
धर्तीमा आइदिनुभयो, पून्य वा धन्य बनाइदिनुभयो भनेर धन्यवादका साथ उहाँलाई दामोदर तुलसी विवाह गरेर बिदाई गर्ने दिनलाई हरिबाेिधनी एकादशी भनिएको हो ।
त्यसकारण यो दिन विशेष दिन हो । हामीले यस दिनलाई ठुलो एकादशी पनि भन्ने गर्दछौं । र कार्तिक शुक्ल एकादशीका रुपमा मान्ने गर्दछौं । यसको सांस्कृतिक र सामाजिक महत्व पनि धेरै छ ।

विशेषगरी हरिबोधिनी एकादशीलाई वैज्ञानिक महत्वसँग पनि जोडिएको छ । हाम्रो शरीरमा पाँच वटा इन्द्रिय, पाँच वटा कर्म इन्द्रिय र एउटा आत्मा हुन्छ, यसरी एघार वटा चिजहरुको संयोजन भएर हाम्रो शरीर बनेको हुन्छ ।
एकादशीमध्ये हरिबोधिनी एकादशी सबैभन्दा ठूलो एकादशी हो । सामान्यतय वर्षभरिमा २४ वटा एकादशी हुन्छन् । र अधिकमास भएको बेलामा २६ वटा एकादशी पर्दछन् ।
त्यसमध्ये हरिबोधिनी एकादशी ठूलो एकादशी मानेर सामाजिक, सांस्कृतिक, धार्मिक रुपमा पनि मान्ने चलन छ । सनातन हिन्दु, वैष्णव धर्म मान्नेहरुले विशेष रुपमा यो एकादशीलाई मान्ने गर्दछन् ।
त्यसो हुँदा हरि शयनी एकादशीको दिन एक दिन र हरिबोधनी एकादशीको दिन एक दिन चाहिँ अन्न नखाइ, कन्दमूलहरु मात्र खाएर वा सकेसम्म निराहारै रुपमा व्रत बस्दा उत्तम हुन्छ ।
हरिबोधिनी एकादशीको दिन विशेषगरी तुलसी दामोदर विवाह गर्नुपर्ने भएकाले, तुलसीलाई कन्या बनाएर नारायणसँग विवाह गर्नुपर्ने भएको हुनाले भोजन गरिदैन् ।
विवाहको दिन कन्यादान गर्ने घरमा भोजन नै गर्दैनन् । त्यस कारणले हरिबोधनी एकादशीका दिन भोकै बसेर तुलसी दामोदर विवाह गर्ने चलन छ ।
हरिबोधनी एकादशी भनेको चार महिनापछि नारायण उठ्ने वा साँस्कृतिक पर्व पनि हो । यो वैदिक विधि पनि हो । नारायण मत्र्यलोकमा मात्रै बसेर भएन, बैकुण्ठमा पनि हेर्नुपर्यो भन्ने हिसाबले यस दिनलाई विशेष मानिएको हो । यस दिनको विहानको पनि बेग्लै नृत्यकर्म हुन्छ ।
बिहान सूर्योदय हुनुभन्दा दुई घडी अगाडि उठ्नुपर्छ । यसपटक सूर्योदय ६ः१५ को हाराहारीमा छ । दुई घडी अगाडि भनेको ४८ मिनेट अगाडि उठ्नुपर्छ । यसपटक झन्डै ५ः३० बजेतिर उठ्नुपर्यो ।
मोठलाई श्रृङ्गारपटार गर्ने, लिङ्ग अर्थात उखु, बाँस राखेर त्यसलाई सजाउनुपर्छ । त्यसपछि मण्डप जस्तो बनाउनुपर्छ । भएसम्म शालिग्राम नभए विष्णुको फोटो त्यहाँ राखेर विधिपूर्वक तुलसी र दामोदरको विवाह सम्पन्न गर्ने विधि अपनाउनुपर्छ ।
विशेषगरी तुलसीको विवाह भनेको के हो भने शारीरिक, मानसिक रुपमा र चिन्तनले पनि पवित्र बन्नुपर्छ भन्ने हो । हामी पवित्र भयौँ भने गरेका कर्महरु पनि पवित्र हुन्छन् भन्ने विश्वास छ ।
यसले हामीलाई एक किसिमको अनुशासन पनि सिकाउँछ ।
हाम्रो समाजमा विवाहको विशेष महत्व छ । यसको फरक विधि पनि छ । हरिवोधनी एकादशीको दिनमा तुलसी र दामोदरलार्इ सँगै राखेर विवाह जसरी गर्छौं त्यसरी नै लगन गाँठो बनाएर माला लगाइदिएर विवाह गर्ने चलन छ ।

विवाहमा नारायणको हवन गर्नुपर्छ । मंसिर कृष्ण मार्ग कृष्ण पञ्चमीसम्म यो हवन हुन्छ । र पञ्चमीसम्म विवाह हुँदैन । पञ्चमीसम्म नारायणलाई हवन गरेर विदा गर्ने चलन छ । त्यसपछि मात्र सर्वसाधारणले ववाह गर्ने परम्परा छ । त्योभन्दा अगाडि गर्नु हुँदैन भन्ने विश्वास छ ।
त्यसकारणले नगर्ने भनेको हो । यसलाई अपभ्रंश हुँदाहुँदै अहिले आएर कात्तिकमा विवाह गर्नु हुँदैन भनिएको हो ।
तर बुझ्नुपर्ने कुरा के हो भने चतुर्मासभरि नारायण निदाएको बेलामा पून्य कार्य नहुने भनिएको हो । कर्मको साक्षी नै छैनन् भने कसरी शुभ कार्य गर्ने, मांगलिक कार्य कसरी गर्ने भनेर भनिएको हो ।
कार्तिक महिना भनेर भनेको होइन ।
विशेष कार्तिक शुक्ल एकादशीमा नारायणको तुलसी दामोदर विवाह सम्पन्न हुन्छ । त्यसपछि मार्ग कृष्ण पञ्चमीको दिनसम्म हवन हुने र हवनमा नयाँ अन्न, नवअन्नहरू जुन छन् नि, नवअन्नहरू चढाएर नुवागी खाने चलन पनि छ । त्यो नगरेसम्म हाम्रो खेतीपाती भित्र्याउन काम पनि सम्पन्न हुँदैन भनिन्छ ।
त्यस्ता कुराहरुलाई नियन्त्रण गर्नको लागि पनि कार्तिकमा विवाह गर्नु हुँदैन भनेर सहज तरिकाले बुझाएको हो । यसलाई अन्यथा अर्थमा लिनुहुन्न ।