हामी देश बचाउँछौं, जलाउनेहरु लखेटिन्छन्

सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवा संघको चेतावनी

  • Clock icon
    २०८२ कार्तिक २४, सोमबार

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए ।
अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए ।

नेपाल न्यूज बैकंसँगको कुराकानीमा एमालेका ऐजेण्डाहरु अनुसार देश बचाउनका लागि आफूहरु केन्द्रीत रहेको बताए । उनले देश जलाउनेहरूलाई आफुहरु नसमेट्ने पनि बताए ।
‘युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं । पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं । एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,’ उनले भने ।

उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे ।

उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफुहरुबाटै उठ्न सुरु गरेको दावी गरे ।

उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भएपनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए ।
त्यस्तै नेकपा एमालेका केद्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुन:स्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए ।

‘अहिले नेकपा एमालेले संसदको पुन:स्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुन: व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले नै सिंहदरबारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए ।  बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरेतापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए ।

‘हामीले खुल्लम खुल्ला भनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवन राष्ट्रपति कार्यालय जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन् । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदी चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरु कहीं भाग्न सक्दैनन् ।’
उनले यतिबेला बालेन र सुदन खुल्ला रुपमा हिँडेपनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै चेतावनी दिए ।

-रस्मिता गिरी

  • Clock icon
    २०८२ कार्तिक २४, सोमबार