काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मतसम्बन्धी ५ दिने सीप विकास तालिम कार्यक्रम काठमाडौंमा सुरु भएको छ । तालिममा काठमाडौं, भक्तपुर, ललित्पुर, नुवाकोट, धादिङ र काभ्रेबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।
कार्यक्रममा नेपाल डेरी एसोसिएशनका उपाध्यक्ष दिप प्रसाद धमलाले स्वागत मन्तव्य राख्दै तालिममा सिकिएका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै डेरी क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोगका लागि यस तालिमको महत्व औंल्याए । विशेष अतिथि खुल प्रसाद हुमागाईले “सीप जति बाँडिन्छ, उति नै बढ्छ” भन्दै सहभागीहरूलाई सिकेका ज्ञान र सीप अरूसँग समेत आदान–प्रदान गर्न प्रोत्साहित गरे ।
नेपाल डेरी एसोसिएशन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै तालिमले डेरी व्यवसायको गुणस्तर र सेवा सुधारमा मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका बोर्ड सदस्य मनोज चापागाईंले यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नेपाल डेरी एसोसिएसनलाई विशेष धन्यवाद व्यक्त गर्दै यो तालिमले किसान र डेरी उद्योगमा ठूलो सहयोग पुग्ने, अनावश्यक मर्मतका नाममा ठगिने कुरा बन्द हुने कुरा बताए । कार्यक्रमका सभापति तथा नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले मिल्क एनालाइजरको प्रभावकारी प्रयोग र मर्मतले डेरी क्षेत्रमा पार्ने सकारात्मक प्रभावबारे बताए। उनले “सिकेका सीप एकअर्कालाई साटासाट गरौँ” भन्ने आग्रह समेत गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका बोर्ड सदस्य मनिज चापागाई, वरिष्ठ डेरी उद्यमी रामहरी श्रेष्ठ, खुल प्रसाद हुमागाईं, नेपाल डेरी एसोसिएशनका उपाध्यक्ष दिप प्रसाद धमला, काठमाडौं जिल्ला सदस्य कुल प्रसाद धमला, ललितपुर दुग्ध व्यवसायी संघका उपाध्यक्ष दिपक सन्जेल, प्रशिक्षक गोबिन्द तिमल्सिना तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा आयोजित यस तालिमले डेरी व्यवसायी तथा डेरी प्राविधिकहरूलाई मिल्क एनालाइजर उपकरणको प्रभावकारी प्रयोग, नियमित सम्भार, समस्या पहिचान तथा मर्मतसम्बन्धी सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने कुरा आयोजक एसोसिएसन तर्फका संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले जानकारी गराए ।
