काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एबं नेपाल निर्जिबन बीमा ब्यबसायी संघका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा बोल्दै मल्लले प्रबिधि र नवाप्रबर्द्दनमा लगानीका दृष्टिकोणले नेपाल अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए ।
प्राकृतिक स्रोतसाधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाई छ । उनले भने, ‘चिनियाँ लगानीबाट नेपालमा हुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुुँच विस्तार गर्न सकिन्छ ,।’
नेपालमा बैदेशिक लगानीको सुरक्षाप्रति बर्तमान सरकारको स्पष्ट प्रतिवद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको निवर्तमान अध्यक्ष मल्लले बताए ।
जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको उनले उल्लेख गरे । यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पुँजी र विकास अनुभव मार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ ।
नेपाल–चीन सहकार्यले दुवै राष्ट्रका लागि साझा समृद्धि हासिल गर्न सकिने निवर्तमान अध्यक्ष मल्लले बताए । नेपाल चीनबीच सातौं सताव्दी देखि नै ऐतिहासिक सम्वन्ध कायम रहेको भन्दै उनले नेपालकी भृकुुटीको तिव्वतका राजासँग विवाह भएको प्रसंगको स्मरण गरे ।