सामाजिक अभियन्ता तथा साहित्यप्रेमी सोनि भण्डारीको ‘भिरमा खरि छ’ बोलको गीत सार्बजनिक

काठमाडौँ /युट्युबमार्फत भर्खरै सार्वजनिक भएको ‘भिरमा खरि छ’ बोलको गीतले दर्शक–श्रोतामाझ सकारात्मक चर्चा पाउन थालेको छ। चर्चित गायक अर्जुन सापकोटा र सामाजिक अभियन्ता तथा साहित्यप्रेमी सोनि भण्डारीको सुमधुर स्वरले सजिएको यो गीतले संगीतप्रेमीलाई नचाउन सफल भएको छ। भाव र संगीतको सुन्दर संयोजन रहेको गीतलाई दर्शकले रुचाइरहेका छन्।

नयाँ सार्वजनिक भएको गीतको प्राविधिक तथा सिर्जनात्मक पक्षमा विभिन्न कलाकार तथा प्राविधिकको महत्वपूर्ण योगदान रहेको छ। गीतको गायनमा चर्चित गायक अर्जुन सापकोटा र कृष्ण माया भण्डारीको स्वर समावेश छ। गीतका शब्द तथा संगीत कृष्ण शताब्दीले तयार पारेका हुन् भने संगीत संयोजनको जिम्मेवारी पनि उनैले सम्हालेका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका हुन्। रेकर्डिङ कार्य वान डीबी स्टुडियोमा सम्पन्न गरिएको हो। गीतको अडियो तथा भिडियो सोनी भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन्। नृत्य संयोजन नितिन वाइबाले गरेका हुन्। भिडियोमा कलाकार कुमार सुनिल, निरा तामाङ र आयुषा गौतमको अभिनय देख्न सकिन्छ। छायांकन चक्र बी। बरालले गरेका छन्।

भिडियोको सम्पादन, रङ संयोजन तथा पोस्टर डिजाइन विष्णु खड्काले गरेका हुन्। मेकअपको जिम्मेवारी कविता तोलाङ्गीले सम्हालेकी छन् भने पोशाक भ्यालेन्टिनो द बुटिक तथा गज्जबकोडिल डट कमबाट व्यवस्थापन गरिएको हो।

उत्पादन व्यवस्थापकको रूपमा सफल खड्का रहेका छन्। भिडियो निर्माणका लागि रोयल मुभिज र सफल मोसन पिक्चर्सले कार्यस्थलको रूपमा सहयोग गरेका छन्।यस गीतको सम्पूर्ण प्रतिलिपि अधिकार सन् २०२५ मा सोनी भण्डारीसँग सुरक्षित रहेको छ।

सोनि भण्डारी बहुआयामिक व्यक्तित्वका रूपमा परिचित नाम हो। उनलाई चिन्ने आधार एउटामा सीमित छैन। साहित्यका विविध विधामा उनको सशक्त उपस्थिति छ। गजल, मुक्तक, कविता र गीत लेखन उनका प्रमुख विधा हुन्। साहित्यसँगै समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छिन्। ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रक्तदान अभियानमा अग्रसर रहँदै आएकी भण्डारी असहाय, दुखी र गरिबका पीडामा मल्हम बन्ने काममा निरन्तर जुटिरहेकी छिन्। प्रवासमा रहेका नेपालीहरूको आवाज बनेर उभिनु र सामाजिक कार्यमा सक्रिय रहनु उनको परिचयको अर्को पाटो हो।

भण्डारीको पहिलो गीत ‘भरिन्छ आमा तिमीलाई सम्झँदा कि परेली झनै भरिन्छ’ शब्द, भाव र गायनकै कारण दर्शक–श्रोताको आँखाभरि आँसु ल्याउन सफल भएको थियो। उक्त गीत आफ्नी आमामात्र नभई स्वर्गीय भइसकेका नेपाली आमाहरूको सम्झनामा समर्पित गरिएको हो। दोस्रो गीत उनले लाइभ दोहोरी भिडन्तमार्फत प्रस्तुत गरेकी थिइन्। तेस्रो गीतका रूपमा ‘भिरमा खैरो छ’ सार्वजनिक भएको हो भने चौथो गीत पनि चर्चित गायकसँगै रिलिजको तयारीमा रहेको बताइन्छ।

१६ वर्षको उमेरदेखि नै समाजसेवामा सक्रिय रहँदै आएकी भण्डारीले गीत, संगीत र साहित्यमा अगाडि बढ्न आफ्नो परिवारबाट ठूलो सहयोग पाएको बताउँछिन्। दुई छोराकी आमा रहेकी उनी छोराहरूको पनि पूर्ण समर्थन रहेको बताउँछिन्। भण्डारी भन्छिन्, “मेरो जीवन समाजसेवा, गीत–संगीत र साहित्यमै बिताउने अठोट गरेको छु।” उनका सिर्जनाले सफलताको सिँढी निरन्तर चढिरहोस् भन्ने कामना धेरैले गरेका छन्।