राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत छन् सोङको बिदाइ भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् ।

कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गरेका थिए । उनले भने(तपाईँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ । तपाई जहाँ रहे पनि हामी असल मित्रको रुपमा सम्झिनेछौँ ।

सन् २०२५ नेपाल(चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएकाले विभिन्न कार्यक्रमहरु भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू पनि केही कार्यक्रममा सहभागी हुने अवसर मिलेको बताए । दुई देशबीच कूटनीतिक सम्बन्धका साथै जनताबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अध्यक्ष दाहालले संसदीय अनुभव आदान प्रदानलाई पनि बढाउँदै लैजानु पर्ने बताए ।

सो अवसरमा राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरेका थिए । चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको उनले बताए । सो अवसरमा राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।