आजको विश्व परिवेश हेर्दा धर्म र जात केवल व्यक्तिगत आस्थासँग मात्र सीमित नरही कतिपय देशहरूमा द्वन्द्व, विभाजन र अस्थिरताको मुख्य कारण बन्दै गएको देखिन्छ। धर्म र जातकै नाममा विश्वका विभिन्न भागमा लामो समयदेखि संघर्ष चलिरहेको छ र हजारौँ निर्दोष मानिसले ज्यान गुमाउनुपरेको पीडादायी इतिहास हामीसामु छ। यस्ता घटनाले देखाउँछ कि धर्म र पहिचानलाई गलत रूपमा प्रयोग गरिँदा समाज कति भयावह अवस्थामा पुग्न सक्छ।
नेपाल पनि यस्ता जोखिमबाट पूर्ण रूपमा अछुतो भने छैन। बेला–बेलामा यहाँ पनि धर्म र जातको नाममा समाजलाई उत्तेजित गर्ने, भ्रम फैलाउने तथा आपसी सद्भाव कमजोर बनाउने प्रयासहरू देखिने गरेका छन्। तर नेपाली समाजमा गहिरो रूपमा जरा गाडेको सहिष्णुता, सहअस्तित्व र आपसी सम्मानका कारण यस्ता गतिविधिहरू अहिलेसम्म गम्भीर रूप लिन सकेका छैनन्। यही सामाजिक सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो, जसलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजानु आजको आवश्यकता हो।
यस सन्दर्भमा विद्यालयजस्तो संवेदनशील र जिम्मेवार संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विद्यालय केवल पाठ्यपुस्तक पढाइने स्थान मात्र होइन, यो बालबालिकाको सोच, चेतना र जीवनमूल्य निर्माण हुने आधारस्थल हो। विद्यालयमा अध्ययन गर्ने बालबालिकाको उमेर प्राय: १४–१५ वर्षको हुन्छ, जुन मानसिक रूपमा अत्यन्त संवेदनशील समय हो। यही उमेरमा देखेका, सुनेका र अनुभूत गरेका कुराले उनीहरूको सोच, व्यवहार र भविष्यको दिशा निर्धारण गर्दछ।
यदि यस्तै संवेदनशील अवस्थामा विद्यालयभित्र कुनै विशेष धर्मलाई प्राथमिकता दिइयो, धार्मिक गतिविधिमा संलग्न गराइयो वा कुनै माध्यमबाट धार्मिक प्रभाव पार्ने प्रयास गरियो भने त्यसले बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूमा अनावश्यक मानसिक, भावनात्मक र वैचारिक बोझ सिर्जना गर्न सक्छ, जुन शैक्षिक दृष्टिले कदापि उचित हुँदैन।
त्यसैले विद्यालय सञ्चालक, शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूले यस विषयमा गम्भीरता र जिम्मेवारीका साथ सोच्न आवश्यक छ। विद्यालय कुनै धर्म प्रचार गर्ने थलो होइन। सबै धर्मप्रति समान सम्मान राख्नु हाम्रो साझा दायित्व हो। कुन धर्म अवलम्बन गर्ने भन्ने निर्णय पूर्ण रूपमा व्यक्तिको निजी आस्था र स्वतन्त्रतासँग सम्बन्धित विषय हो, जसमा कसैले हस्तक्षेप गर्न हुँदैन, विशेषगरी बालबालिकाको हकमा।
जब बालबालिका मानसिक रूपमा परिपक्व हुन्छन्, तब उनीहरूले धर्म, आस्था र जीवनदर्शनबारे आफ्नै बुझाइ र निर्णय गर्न सक्छन्। तर अपरिपक्व अवस्थामा उनीहरूलाई कुनै धर्मतर्फ आकर्षित गरिनु वा प्रभाव पारिनु शैक्षिक नैतिकताका दृष्टिले गलत हो।
अत: आजको परिवेशमा हामी सबै अझ बढी सचेत र जिम्मेवार बन्न आवश्यक छ। विद्यालयभित्र सञ्चालन हुने सबै गतिविधि समावेशी, तटस्थ र धर्मनिरपेक्ष हुनुपर्छ। यही आधारले विद्यालयलाई सुरक्षित, शान्त र सबैका लागि समान अवसरयुक्त बनाउन सकिन्छ। अन्तत: हाम्रो लक्ष्य धर्मभन्दा माथि उठेर मानवता, सहिष्णुता र राष्ट्रिय एकतालाई मजबुत बनाउने शिक्षा प्रदान गर्नु हो।
(लेखक शर्मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष, हुन् )
र यो पनि हेर्नुहोला …