महिलाका अवसर र चुनौती सम्बोधन गर्न साझा प्रयास आवश्यक: शोभा ज्ञवाली

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफविन) की निर्वतमान अध्यक्ष शोभा ज्ञवालीले स्टार्टअप क्षेत्रमा महिलाका लागि अवसर बढ्दै गए पनि विद्यमान संरचनागत चुनौती समाधान गर्न राज्य, निजी क्षेत्र र समाजको साझा प्रयास अपरिहार्य रहेको बताएकी छन्।

सोमबार नीति रिसर्च प्रा.लि.ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पछिल्ला वर्षहरूमा उद्यमशीलता नेपालको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बन्दै गएको उल्लेख गरिन्। यस प्रक्रियामा महिलाको सक्रिय सहभागिता बिना समावेशी र दिगो विकास सम्भव नहुने उनको धारणा थियो। “महिला उद्यमशीलता केवल व्यक्तिगत उन्नतिको विषय होइन, यो परिवार, समाज र राष्ट्रको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो,” उनले भनिन्।

उनका अनुसार प्रविधिको पहुँच विस्तार, डिजिटल बजारको विकास र स्टार्टअपमैत्री नीतिका कारण आज महिलाका लागि नयाँ–नयाँ अवसर खुलेका छन्। कृषि, पर्यटन, सेवा, हस्तकला, सूचना प्रविधि तथा सिर्जनात्मक उद्योगजस्ता क्षेत्रमा महिलाले आफ्नो सीप, ज्ञान र सोचलाई व्यवसायमा रूपान्तरण गरिरहेको अवस्था उत्साहजनक रहेको उनले बताइन्। मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालले महिलालाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म जोड्न सफल भएको उनको भनाइ थियो।

तर अवसरसँगै महिलाले भोग्दै आएका चुनौती अझै गहिरो रहेको भन्दै ज्ञावालीले वित्तीय पहुँचको अभावलाई प्रमुख समस्याका रूपमा औंल्याइन्। “स्टार्टअप कर्जा जस्ता कार्यक्रम आए पनि , प्रक्रियागत जटिलता र सूचनाको कमीका कारण धेरै महिला अझै पनि सहज रूपमा लाभ लिन सकिरहेका छैनन्,” उनले भनिन्। यससँगै सामाजिक सोच, पारिवारिक जिम्मेवारी र समय व्यवस्थापनका चुनौतीले महिला उद्यमीको यात्रालाई कठिन बनाएको उनको भनाइ थियो।

यी समस्या महिलाको क्षमता कमजोर भएर नभई प्रणाली र संरचनामा रहेको असमानताका कारण उत्पन्न भएको उनले स्पष्ट पारिन्। महिलालाई अझै पनि सहयोगी भूमिकामा मात्र सीमित गरेर हेर्ने सामाजिक मानसिकता परिवर्तन नगरी महिला उद्यमशीलता अघि बढ्न नसक्ने उनको ठम्याइ थियो। “नीति कागजमा मात्र सीमित नभई व्यवहारमा लागू हुनुपर्छ,” उनले जोड दिइन्।

निर्वतमान अध्यक्ष ज्ञवालीले महिला उद्यमीलाई सशक्त बनाउन महिलामैत्री नीति, सहज कर्जा व्यवस्था, सीपमूलक तालिम, बजार पहुँच र परामर्श सेवाको विस्तार आवश्यक रहेको बताइन्। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका महिलालाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरकारसँग आग्रह गरिन्। सफल महिला उद्यमीका अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गर्नु र महिला नेतृत्वलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।

उनले महिलाको हक, हित र अधिकार सुनिश्चित गर्दै उनीहरूलाई स्टार्टअपको मूलधारमा ल्याउनु केवल महिलाको मुद्दा नभई राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने आधार भएको उल्लेख गरिन्। “जब महिलाले अवसर पाउँछन्, परिवार सबल बन्छ, समाज सशक्त बन्छ र राष्ट्र समृद्धिको बाटोमा अघि बढ्छ,” उनले भनिन्।

कार्यक्रममा उठेका धारणा अनुसार स्टार्टअप क्षेत्रमा महिलाका अवसर बढ्दै गए पनि चुनौती अझै समाधान हुन बाँकी रहेको देखिएको छ। उनले आगामी दिनमा नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै महिला उद्यमशीलताको प्रवद्र्धनका लागि साझा प्रयास अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेकि छिन।