जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल सुर्खेत-१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

जेन्जी आन्दोलनबाट उदाएका प्रभावशाली युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा औपचारिक सिफारिस गरेको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राप्रपाले हमाललाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत उदीयमान, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम युवा नेतृत्वका रूपमा अघि सारेको हो। समसामयिक राजनीतिक बहसमा उनको सशक्त उपस्थिति, तथ्यमा आधारित अभिव्यक्ति र परिवर्तनमुखी दृष्टिकोणलाई पार्टीले विशेष आधार मानेको जनाएको छ।

पछिल्लो एक दशकदेखि व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल जेन्जी आन्दोलनका अग्रणी अभियन्तामध्ये एक हुन्। शासकीय स्वरूप, सार्वजनिक संस्थाको पुनर्संरचना र उत्तरदायी राज्य प्रणालीको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन उनले खेलेको भूमिका उल्लेखनीय मानिन्छ। विशेषत: युवाहरूको राजनीतिक चेतना, सहभागिता र नेतृत्व विकासमा जेन्जी आन्दोलनले सिर्जना गरेको प्रभावसँगै हमालको राजनीतिक उचाइ तीव्र रूपमा बढेको राजनीतिक विश्लेषकहरूको मत छ।

राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा स्पष्ट दृष्टिकोण, तर्कपूर्ण प्रस्तुति र व्यवहारिक समाधान प्रस्तुत गर्ने क्षमताका कारण चिनिएका छन्। उनको उम्मेदवारी सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व, पुस्तान्तरण र वैकल्पिक राजनीतिप्रतिको चाहनासँग जोडेर हेरिएको छ।

आगामी निर्वाचनमा हमालले सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिस्पर्धा गर्ने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान राजनीतिक सन्दर्भमा, राष्ट्रिय पहिचान बनाइसकेका युवा नेता हमाल सुर्खेत-१ मा बलियो राजनीतिक विकल्पका रूपमा उदाउने आँकलन गरिएको छ।

राप्रपाले हमालको नेतृत्वमार्फत सुशासन, राष्ट्रियता र युवामैत्री राजनीतिलाई संस्थागत गर्ने लक्ष्य राखेको संकेत यस सिफारिसले दिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।