शेरबहादुर तामाङ एमालेबाट सिन्धुपाल्चोक-२ मा उम्मेदवार, सुशासन र विकासको प्रतिबद्धता सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन्। उम्मेदवारी घोषणा गर्दै तामाङले यो निर्णय व्यक्तिगत उपलब्धिभन्दा पनि जनताको विश्वास, आशा र साझा संकल्पको प्रतिबिम्ब भएको बताएका छन्। उनले जनताको आवाज संसदसम्म पुर्‍याउने, न्याय, सुशासन र विकासका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तामाङले आफ्नो राजनीतिक यात्राको मूलमन्त्र निष्ठा, इमान्दारिता, पारदर्शिता र जनताप्रतिको वफादारिता भएको उल्लेख गर्दै जीवनमा भोकै मर्न तयार भए पनि भ्रष्टाचार नगर्ने र हुन नदिने स्पष्ट अडान दोहोर्‍याएका छन्। सिन्धुपाल्चोक-२ का जनप्रतिनिधिका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न निरन्तर प्रयास गरेको र जिल्लाको शिर निहुरिने कुनै काम नगरेको उनको दाबी छ।

उम्मेदवारीसँगै तामाङले समृद्ध नेपाल, सुखी नेपाली को लक्ष्यअनुरूप निम्न प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्-

भ्रष्टाचार अन्त्य र सुशासन: सबै सार्वजनिक पदधारणकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनका लागि पहल

सेवा प्रवाहमा सुधार: लाइनरहित, पूर्ण रूपमा अनलाइनमार्फत सरकारी सेवा सञ्चालन

कमीशन नियन्त्रण: कमीशनविरुद्ध कडा कानुनी व्यवस्था

कृषि तथा उद्योग: गाँजा खेतीको वैधानिकता का लागि पहल

स्थानीय उत्पादन प्रवर्द्धन: कोदोको रक्सी ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने प्रयास

स्वास्थ्य सुरक्षा: शतप्रतिशत स्वास्थ्य बीमा मार्फत नागरिकको उपचार सुनिश्चित

ऊर्जा विकास: घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क बनाउन पहल

इमानदार राजनीति: “म भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न” भन्ने प्रतिवद्धता

तामाङले उम्मेदवारीका लागि पार्टी नेतृत्वबाट भएको निर्णयप्रति पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल तथा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद दिएका छन्। साथै, मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई यस अभियानमा साथ, सहयोग र सुझावका लागि अपिल गरेका छन्।

अग्रज नेता तथा जिल्लाका कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै तामाङले सिन्धुपाल्चोकको विकास र समग्र देशको समृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन्। उनले निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रहसमेत गरेका छन्।