दोलखा प्रतिनिधिसभा निर्वाचन : नेकपाबाट विशाल खड्का उम्मेद्वार

दोलखा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दोलखाबाट युवा तथा अनुभवी नेता विशाल खड्कालाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा चयन गरेको छ । पार्टीको केन्द्रीय नेतृत्व तथा जिल्ला कमिटीको गहन छलफलपछि सो निर्णय गरिएको हो, जसले दोलखाली जनतामा उत्साह र पार्टीभित्र सकारात्मक ऊर्जा सृजना गरेको छ।

विशाल खड्का दोलखाकै लोकप्रिय युवा नेता हुन्, जसले लामो समर्पण र जनता प्रतिको निष्ठापूर्वक सेवाको माध्यमबाट पार्टी र जनताबीच बलियो भरोसा निर्माण गरेका छन् । उनी २०३८ साल बैसाख ३ गते दोलखाको जुँगु गाउँ मा जन्मिएका उनी मध्यमवर्गीय किसान परिवारबाट राजनीति तथा सामाजिक सेवामा उक्लिँदै आएका हुन्।

राजनीतिक जीवनको शुरुवातैदेखि विशाल खड्का जनआन्दोलन तथा बामपन्थी आन्दोलनमा सकृय सहभागी रहँदै आएका थिए। २०५४ सालदेखि नेकपाका पूर्णकालिक कार्यकर्ताको रूपमा जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका उनले युवापुस्तालाई नेतृत्वमा ल्याउने दृढता देखाएका छन् । जेल जीवन, आन्दोलन तथा समाजिक सेवामा बिताएको अनुभवले उनलाई अनुभवी, जनप्रिय र युगपुस्तालाई प्रतिनिधित्व गर्न सक्षम नेताको रूपमा स्थापित गरेको छ।

विशेषगरी २०७४ को निर्वाचनमा दोलखा (१) बाट बागमती प्रदेशसभाको प्रतिनिधि निर्वाचित भई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका उनले प्रदेश सरकारमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका खड्का त्यसै अनुभवलाई लिएर अब संघीय संसदमा आफ्नो कर्तव्य पुरा गर्ने लक्ष्य राखेका छन्।

नेता खड्काले चुनावी तयारीमा भाग लिन जनताप्रति आफ्नो प्रतिबद्धतामा विश्वास र भरोसा जित्ने बताए, साथै दोलखाको समग्र विकास, युवा सशक्तिकरण, शिक्षा र रोजगारीका अवसरहरू, तथा स्थानीय सरोकारका मुद्दाहरूलाई संघीय तहमा मजबुत रूपमा अघि बढाउने आफ्नो उत्कृस्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीले दोलखामा युवा नेतृत्वको सशक्त उपस्थिति र स्थानीय सरकारको विकास लक्ष्य साकार पार्ने आशा पैदा गरेको छ। त्यसै क्रममा उनले महान सहिद तथा बेपत्ता योद्धाहरू प्रति श्रद्धा, सम्मान र गहिरो स्मरण व्यक्त गर्दै, आन्दोलनमा घाइते भएका सबै योद्धाहरूलाई उच्च सम्मान दिएका छन् र दोलखाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूको भावना, चाहना र निर्देशनलाई शिरोपर गरेर जनताको भरोसा र सपनालाई साकार पार्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।