सिन्धुपाल्चोक-२ मा कांग्रेसको भरोसा, वंशलाल तामाङलाई टिकट

Banshalal

सिन्धुपाल्चोक। नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि प्रतिनिधिसभा उम्मेदवारका रूपमा  इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङलाई अघि सारेपछि स्थानीय नेता तथा कार्यकर्ताहरू उत्साहित भएका छन्। उनीहरूले तामाङलाई विकासप्रेमी, अनुभवी र जनभावना बुझ्ने नेताका रूपमा चित्रण गर्दै यो निर्णय समयानुकूल र जनचाहनाअनुसार भएको बताएका छन्।

कांग्रेसका स्थानीय नेता-कार्यकर्ताका अनुसार तामाङले गाउँपालिका अध्यक्ष रहँदा इन्द्रावतीको समग्र विकासको स्पष्ट मार्गचित्र तयार पारी पालिकाको मुहार परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र आधारभूत सेवामा उल्लेख्य सुधार गर्दै उनले विकासलाई व्यवहारमा उतारेको उनीहरूको भनाइ छ। “उहाँ कागजी योजनामा मात्र सीमित हुने होइन, ठोस काम गरेर देखाउने नेता हुनुहुन्छ,” एक स्थानीय कांग्रेस नेताले बताए।

कार्यकर्ताहरूले तामाङको शालीन स्वभाव, कुशल साङ्गठनिक क्षमता र युवा पुस्तासँगको नजिकको सम्बन्धलाई उनको प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेका छन्। उनीहरूका अनुसार सामाजिक सद्भाव, समावेशी सोच र दिगो विकासप्रतिको प्रतिबद्धताका कारण तामाङ आम जनताको मन जित्न सफल भएका हुन्।

प्रतिनिधिसभा सदस्यका रूपमा तामाङले सिन्धुपाल्चोक-२ का जनताका मुद्दाहरूलाई संघीय सदनमा सशक्त रूपमा उठाउने र यस क्षेत्रको विकासलाई राष्ट्रिय तहसम्म प्रभावकारी ढङ्गले अघि बढाउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्। उनीहरू भन्छन्, “यो टिकट केवल उम्मेदवारी मात्र होइन, विकास र जनभरोसाको निरन्तरता पनि हो।