नेपालको वर्तमान राजनीतिमा ‘समृद्धि, समता र स्वाभिमान’ केवल नारामा मात्र सीमित भइरहेका बेला गतिशील लोकतान्त्रिक पार्टीले भने यसलाई प्राप्त गर्ने ठोस आधारका रूपमा सुशासन र उद्यमशीलतालाई अघि सारेको छ।
पार्टीको दृढ विश्वास छ कि जबसम्म मुलुकमा विधिको शासन र इमानदार सुशासन कायम हुँदैन, तबसम्म उद्यमशीलताको जग बलियो हुन सक्दैन। नेपालको विशिष्ट भूगोल र प्राकृतिक स्रोतलाई मध्यनजर गर्दै यस पार्टीले तुलनात्मक लाभका क्षेत्रहरू विशेषगरी कृषिको व्यवसायीकरणलाई आफ्नो आर्थिक मेरुदण्डका रूपमा परिभाषित गरेको छ।
नेपालको उर्वर भूमि र जैविक विविधता हाम्रो विकासको मुख्य इन्जिन हो। परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिक प्रविधि, बजार पहुँच र मूल्य शृङ्खलासँग जोडेर मात्रै देशले वास्तविक आर्थिक छलाङ मार्न सक्छ।
गतिशील लोकतान्त्रिक पार्टीले कृषिमा आधारित उद्योगहरूको विस्तारलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष श्रम बजारमा थपिने ५ लाखभन्दा बढी नवयुवाहरूलाई स्वदेशमै अर्थपूर्ण रोजगारीका अवसरहरू सिर्जना गर्ने कार्ययोजना अघि सारेको छ। हाम्रा युवाहरू मरुभूमिको तातोमा सस्तो श्रम बेच्न बाध्य हुनुपर्ने वर्तमान नियतिलाई अन्त्य गर्दै स्वदेशमै पसिना बगाउने र स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्नु नै पार्टीको मुख्य लक्ष्य हो।
समावेशी समता र सामाजिक न्यायको जगमा उभिएर सबै वर्ग र क्षेत्रका नागरिकलाई विकासको मूल प्रवाहमा सहभागी नगराएसम्म लोकतन्त्र केवल कागजी सिद्धान्तमा मात्र सीमित रहन्छ। त्यसैले, पार्टीले भौगोलिक परिवेशअनुसारको पर्यटन, जलविद्युत र सूचना प्रविधिलाई कृषिसँगै सहायक खम्बाको रूपमा विकास गर्ने मार्गचित्र तय गरेको छ।
जब सुशासनले भ्रष्टाचारलाई विस्थापित गर्छ र उद्यमशीलताले उत्पादनलाई बढावा दिन्छ, तब मात्र नेपाल साँच्चै स्वाभिमानी र आत्मनिर्भर बन्नेछ। यस अर्थमा, गतिशील लोकतान्त्रिक पार्टी केवल सत्ताको दौडमा होइन, बरु नेपाललाई समृद्धिको नयाँ युगमा लैजाने एक गतिशील र अर्थपूर्ण शक्तिका रूपमा अरूभन्दा भिन्न देखिएको छ।
यस बिचार पार्टीको गतिविधिलाई आधार मानि लेखिएको हो