एनसेल मुख्य प्रायोजक रहेको छैटौँ टाइगर कप भलिबल आजदेखि

पोखरा । खेलकुद विकास र युवा सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेलले पोखरामा आयोजना हुन लागेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। प्रतियोगिता शुक्रबारदेखि पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भई माघ १७ गतेसम्म सञ्चालन हुनेछ।

विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा गत वर्षझैँ यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको हो। एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले टाइगर कपसँगको सहकार्यले खेलकुद र स्थानीय युवाको प्रतिभा विकासप्रति एनसेलको गहिरो प्रतिबद्धता झल्काउने बताए।

प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टोली सहभागी छन्। महिला तर्फ नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड र थाइल्यान्ड क्विन्स छन् भने पुरुष तर्फ गण्डकी प्रदेश, नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ, पर्वत जिल्ला र मालदिभ्सका टोली सहभागी छन्।

महिला तथा पुरुष दुवै तर्फका विजेताले रु ६,६६,६६६, उपविजेताले रु ३,६६,६६६ र तृतीय हुने टोलीले रु २,०६,६६६ पुरस्कार प्राप्त गर्नेछन्। आयोजक टाइगर ग्रुपले एनसेलको निरन्तर सहयोगले टाइगर कपलाई देशकै ठूलो भलिबल प्रतियोगिताको रूपमा स्थापित गर्न सहयोग पुगेको जनाएको छ।